नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गठबन्धन सरकारले राष्ट्रको स्वाधिनतामा आँचपुग्ने कतिपय गोप्य र षड्यन्त्रपूर्ण ढंगले सम्झौता गरेको आरोप लगाएका छन् । उनले सो विषयलाई लिएर एमाले गम्भीर भएको बताए ।
शनिबार ललितपुरमा एमाले निकट जनसाँस्कृतिक महासंघले आयोजना गरेको ‘जबजको सौन्दर्य चिन्तन’ नामक ग्रन्थको लोकार्पणमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले जयशंकरको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दलसँग सरकारले कुनै प्रकारले छलफल नगरेकोप्रति तिक्तता पोखे ।
एमालेकाे आफ्नो एजेण्डामा स्पष्ट रहेको उल्लेख गर्दै उनले नेपालको राष्ट्रिय स्वार्थलाई हित हुनेगरी छिमेकीसँग आँखामा आँखा जुधाएर अहिलेको सरकारले काम गर्न नसकेको बताए । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका विषयहरु गठबन्धन सरकारले धुमिल बनाउँदै लगेको वरिष्ठ उपाध्यक्ष पोखरेलको आरोप थियो ।
‘हालसालै छिमेकी देशका परराष्ट्रमन्त्री भ्रमणमा आउँदा गरिएका सहमति र सम्झौताहरु नेपालका कुनै प्रतिपक्षी दलहरुसँग सल्लाह वा विमर्श केही भएको छैन । कुनै जानकारी छैन । गोप्य ढंगले र षड्यन्त्रपूर्ण ढंगले वास्तवमा नेपालको स्वाधिनतामा आँच आउने पुग्ने हिसावले कतिपय विषयहरु सम्झौता गर्ने नाममा गरिएका छन् । यसलाई नेकपा एमालेले अत्यन्तै गम्भीर रुपमा लिएको छ ।’ उनले भने ।
आफ्नो सरकारको पालामा बलियो बनाएको राष्ट्रिय एकताको कुरालाई अहिलेको सरकारले धुमिल पारेको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक सद्भाव र एकतालाई खल्बल्याएर राष्ट्रिय स्वाधिनतामाथि आँच पुर्याउन खोजिएकाले त्यसतर्फ शर्तक रहेर सामाजिक सद्भाव अभिवृद्धि गर्न लाग्नुपर्ने धारणा राखे ।





























प्रतिक्रिया