सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक एवं कर्मचारीहरू फेरि आन्दोलनमा उत्रिएका छन्।
बढुवा प्रक्रियाका लागि हुनुपर्ने अन्तर्वार्तामा बिलम्व भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।आन्दोलनरत कर्मचारी र शिक्षकहरुले बिहीबार आफ्ना मागप्रति ध्यानाकर्षण गराउँदै र्याली आयोजना गरेका थिए।
माग पूरा गर्न गम्भीर नभएको भन्दै कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीलाई प्रतिष्ठानका निश्चित ठाउँमा आउजाउ गर्न निषेध गर्दै उनीहरुले ‘निषेधित क्षेत्र’ समेत तोकेका छन्।
गत कात्तिक २० गतेको सहमतिअनुसार बढुवा प्रक्रियाका लागि अन्तर्वार्ता लिन ढिलाइ भएपछि उनीहरु आन्दोलित बनेका हुन्। कर्मचारी कल्याण समाजका अध्यक्ष डा. सेराज खानका अनुसार सहमतिअनुसार अन्तर्वार्ताको प्रक्रिया नगरिएपछि आन्दोलन गर्नुपरेको हो।
आइतबारसम्म पनि आफूहरुको माग पूरा गरी समस्याको समाधान नगरिए अझ सशक्त आन्दोलन गर्ने प्रतिष्ठानका कर्मचारी तथा शिक्षकहरुले चेतावनी दिएका छन् । यसअघि पनि कर्मचारी र शिक्षकहरुले माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलन गरेका थिए। लामो समयसम्म आन्दोलन गरेपछि सहमति भएको थियो ।
गत कात्तिक २० गते आन्दोलनरत शिक्षक र कर्मचारीसँग प्रतिष्ठान प्रशासनको छुट्टाछुट्टै ४ बुँदे सहमति भएको थियो। उक्त सहमति अनुसार विधि, प्रक्रिया पुरा गरेर पुस १ गतेदेखि १५ गतेसम्म अन्तर्वार्ता गरिने भनिए पनि सहमतिअनुसार काम नभएको भन्दै असन्तुष्ट बनेका शिक्षक र कर्मचारीले फेरि आन्दोलन सुरु गरेका हुन् ।





























प्रतिक्रिया