सरकारबाटै परिवर्तनमाथि खतरा भएको रविको टिप्पणी, सर्लाहीमा पूर्वराजाको स्वागतमा उर्लियो जनसागर [भिडियाे]

सरकारबाटै परिवर्तनमाथि खतरा भएको रविको टिप्पणी, सर्लाहीमा पूर्वराजाको स्वागतमा उर्लियो जनसागर [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

चुनाव हारेकालाई राष्ट्रियसभामा लिएर जानेहरूबाट यो व्यवस्थामाथि खतरा छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तामा रहेका दलहरूबाटै परिवर्तनमाथि खतरा रहेको टिप्पणी गरेका छन् ।

रास्वपा सांसद विराजभक्त श्रेष्ठको १ वर्षे कार्यकालको प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले भने, ‘परिवर्तनमा प्रहर त्यसले गर्यो जसले भरखरै चुनाव हारेकालाई यीनीहरु नभई हुँदै भन्दै चोरबाटो बाट राष्ट्रियसभामा ल्याउनका लागि संविधान र व्यवस्थाको भद्दा मजाक बनाएर यो काम गरे उनैले प्रहार गरिरहेका छन्।’ 

माओवादीले तोक्यो विधान अधिवेशनको मिति

नेकपा माओवादी केन्द्रले आगामी फागुन १ गतेदेखि तीन दिन विधान अधिवेशन गर्ने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले फागुनको १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो।

साथै बैठकले  पार्टी एकताका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा एकता संयोजन समिति पनि गठन गरेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहमा

पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लोसमय धार्मिक प्रयोजनका लागि भन्दै देश दौडाहमा छन्। शनिबार सर्लाहीको बरहथवा नगरपालिका–९ स्थित मुक्तेश्वरनाथ महादेवको दर्शनका लागि पुगेका पूर्वराजालाई त्यहाँका स्थानीयहरुले भव्य स्वागत गरेका थिए।

साथै, उद्योग बाणिज्य संघ बरहथवाले समेत पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेको थियो । त्यसैगरी विभिन्न धार्मिक संघरसंस्था र नागरिक समाजले उनको स्वागत गरेका थिए । मुक्तेश्वरनाथको दर्शन सकेर उनी आज नै वीरगञ्जतर्फ लागेका छन् ।

आयोगले दियो राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न

आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ।

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो।  निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन्।

राप्ती बस दुर्घटनाको मुख्य कारण ट्राफिक छलेर तीव्र गति भएकाे प्रहरीकाे अनुमान 

बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। २३ जना घाइते भएका छन्।

बस दुर्घटनामा चालकको गम्भीर लापरबाहीले भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तीव्र गतिमा रहेको बस भालुवाङमा रहेको प्रहरीको चेकपोइन्टमा नरोकी हुँइकिएको थियो । चेकप्वाइन्ट कटेको बस सय मिटर नपुग्दै दुर्घटनामा परेको हो । 

अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी

मुलुककै पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्। सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा ९.२ प्रतिशतले बढी हो।

लाइन काटिएका उद्योगमा बिजुली जोडियो

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा नेपाल विद्युत प्राधिकरणले काटिएका उद्योगको बिजुली पुनः जोडिदिएको छ।

मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो। प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडिदिएको हो। शुक्रबार रातभर उद्योगहरूमा लाइन जोडिएको हो। 

कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन्।

अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई देखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएका हुन्। कोभिड–सम्बन्धित मृत्युमा ठूलो कमी आएको भएता पनि ५० देशबाट अझै पनि प्रति महिना करिब दश हजारको मृत्यु हुने गरेको रिपोर्ट गरिएको छ। 

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेश, लुम्बिनी र पुलिस क्लबको विजयी शुरुवात

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन्। काठमाडाैँको मूलपानी मैदानमा मधेशले कोशी प्रदेशलाई ७ विकेटले हरायो।

साथै आजै त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल पुलिस क्लबले बाग्मती प्रदेशलाई ६८ रनले हराउँदा भैरहवामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले स्तब्ध बनायो।

आजदेखि शुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन्। प्रतियोगितामा पहिलो पटक राउन्ड रोविन अर्थात् सबै टोलीले एक अर्कासँग खेल्नेछन्। 

२०२३ मा १२ लाख ६३ हजार ४६९ जना नेपाली विदेशबाट फर्किए

सन् २०२३ मा १२ लाख ६३ हजार ४६९ जना नेपाली विदेशबाट फर्किएका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख तीन हजार ८३६ जना नेपाली  विदेशिँदा १२ लाख ६३ हजार ४६९ जना नेपाली स्वदेश फर्किएका हुन्।

यसमा नेपाली नागरिकता भएका व्यक्तिको मात्रै संख्या गणना गरिएको छ। तथ्यांकले सन् २०२३ मा विदेश गएको कारण नेपालमा बस्नेको संख्या तीन लाख ४० हजार ३६७ घटेको देखाउँछ।

Logo