कराँतेमा बागमती टिम च्याम्पियन

कराँतेमा बागमती टिम च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशले चौँथो राष्ट्रिय खुला वादोरियो कराँते प्रतियोगिताको उपाधि जितेको छ। १२ स्पर्धा समावेश प्रतियोगितामा शनिबार बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो। 

बागमतीले २ रजत र १ कांस्य पनि जित्यो। नेपाल वादोरियो कराँते डो संघद्वारा आयोजित प्रतियोगितामा १ स्वर्ण, ३ रजत र ३ कांस्यसहित कोशी प्रदेश दोश्रो भयो। तेश्रो स्थानको मधेश प्रदेशले १ स्वर्ण र ५ कांस्य हात पार्यो।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ८ हजार र ७ हजार नगद पुरस्कार हात पारे। बसुन्धरास्थित यति पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुषमा बागमतीका डेविडकुमार श्रेष्ठ र महिलामा कोशीकी सन्जिता लेप्चा उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही ३ हजार नगद पुरस्कार पाए।

प्रतियोगिताको अन्तिम दिन ६ स्वर्णका लागि प्रतिस्पर्धामा भएकोमा सबै स्वर्ण बागमती प्रदेशका खेलाडीले  जिते। पुरुष ५५ केजीमा डेविडकुमार श्रेष्ठ, ६० केजीमा सुविन्द्र घिसिङ, ६५ केजीमाथि पासाङ ग्याल्जेन र ५० केजीमा समिर घलानले स्वर्ण जिते। महिला ५५ केजीमा दिया पहरी तथा ६० केजीमाथि टीकामाया जिमीले पहिलो स्थान हात पारे।

विजेतालाई प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्य–सचिव जयप्रकाश भट्टराई, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, आयोजक संघका अध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

सो अवसरमा नेपाल कराते महासंघको आयोजनामा भएको सातौं दक्षिण एसियाली करातेका स्वर्ण विजेता एलोन श्रेष्ठ र सुस्मिता वाइबा तथा रजत विजेता उर्सला पहरीलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो। प्रतियोगितामा समावेश बाह्रै स्पर्धाका पदक विजेतालाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो।

Logo