६ महिनामा काठमाडौँ महानगरको खर्च १७ प्रतिशत मात्रै

६ महिनामा काठमाडौँ महानगरको खर्च १७ प्रतिशत मात्रै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १७ प्रतिशत बजेट मात्रै खर्च गरेको छ।

महानगरले चालु आर्थिक वर्ष २०८०-०८१ का लागि २४ अर्ब ४ करोड ५४ लाख १ हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा ६ महिनाको अवधिमा ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैयाँ मात्रै खर्च भएको छ। 

आइतबारदेखि सुरू भएको महानगरपालिकाको १४ औँ नगरसभामा उपप्रमुख सुनिता डंगोलले अहिलेसम्म विनियोजनको १७.७८ प्रतिशत मात्रै खर्च भएको बताइन्। 

‘अहिलेसम्म विनियोजनको १७.७८ प्रतिशतमात्रै खर्च भएको छ। जसमध्ये पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत र सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको छ,’ उपप्रमुख डंगोलले भनिन्। 

त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा धेरै ३६.४७ प्रतिशत खर्च भएको छ। ‘विकास निर्माण कार्यको भौतिक प्रगति बढी भएपनि कतिपय खर्चको भुक्तानी प्रक्रियामा भएर लेखांकन भइसकेको छैन, त्यसकारण वित्तीय प्रगति कमजोर देखिएको छ,’ उपप्रमुख डंगोलको भनाइ छ। 

महानगरपालिकाले चालु आर्थिक बर्षमा राजस्व आम्दानीतर्फ १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँको लक्ष्य निर्धारण गरेको छ। त्यसमध्ये आन्तरिक राजस्व असुलीको लक्ष्य ६ अर्ब ३९ करोड २० लाख रुपैयाँ छ।

पुस १६ गतेसम्म ४ अर्ब ७६ करोड ३३ लाख १२ हजार ६ सय २४ रुपैयाँ राजस्व संकलन भएको छ। जसमा आन्तरिक आयअन्तर्गत २ अर्ब ८७ करोड ७८ लाख ९८ हजार ८ सय ७७ रुपैयाँ छ।

महानगरपालिकाले ६ महिनामा राजस्व संकलनको ४४.०३ प्रतिशत लक्ष्य हासिल गरेको हो। आन्तरिकतर्फ कुल लक्ष्यको ४५.०२ प्रतिशत प्रगति भएको छ। लक्ष्यअनुसार खर्च गर्न कठिन हुने भएको भन्दै उपप्रमुख डंगोलले आइतबार नगरसभामा बजेटमा संशोधनको प्रस्ताव पेश गरेकी छिन्। 

‘स्वीकृत नीति तथा कार्यक्रम बजेटको लक्ष्य हासिल गर्न बजेट कार्यक्रममा केही हेरफेर गर्न जरुरी देखिएको छ। विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको छ। केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएको छ,’ डंगोलको प्रस्ताव छ।

उनले ९ करोड २१ लाख रुपैयाँ बजेट बराबरका कार्यक्रमहरू संशोधनको प्रस्ताव पेस गरिन्। ‘कार्यालय सञ्चालन र प्रशासनिक खर्च, आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख घटाएर पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा सोही बराबरको बजेट थप गर्दै संशोधन प्रस्ताव पेस गरेको छु,’ डंगोलले भनिन्। 

महानगरपालिकाले पुस मसान्तसम्म कर रकममा १० प्रतिशत र बक्यौतामा जरिवाना समेत छुट दिएको थियो। नगरसभामा प्रवक्ता नविन मानन्धरले सूचना तथा सञ्चार ऐन २०८० को पहिलो संशोधन, राजस्व समितिका संयोजक नवराज पराजुलीले आर्थिक ऐन २०८० को संशोधन विधेयक र सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन २०७९ को पहिलो संशोधन विधेयक पेस गरेका छन्।नगरसभाको अर्को बैठक माघ ३ गते बस्नेछ।

Logo