रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु
रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा रुसी सेनामा पुगेका लमजुङ दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको भएको हो । गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको हो ।
प्रधानमन्त्रीको सचिवालयबाट हटाइए १३ जना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले १ माघदेखि सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालकलाई जिम्मेवारी मुक्त गरेका हुन् । उनीहरुलाई एक वर्षको योगदानको लागि धन्यवादसहित बिदा गरिएको हो ।
जलहरी भ्रष्टाचारमा मुछिएका सदस्य सचिव थापासँग ३ लाख धरौटी माग
विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणका क्रममा भ्रष्टाचारमा मुछिएका एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । विशेष अदालतका न्यायाधिशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो । अख्तियारले कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा। प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।
धरानका मेयर हर्क साम्पाङले मागे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्रा. डा. प्रल्हाद कार्कीलाई कारबाहीको माग
धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा. डा. प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइ कारबाही गरिदिन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई पत्र लेखेका छन् । प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई कारबाही गरेको, आन्दोलनले ओपीडी बन्द भएको अवस्थामा आफू लुकीछिपी बसेको मेयर साम्पाङले आरोप लगाएका छन् । उनले सोमबार मात्रै उपकूलपति कार्कीको कार्यकक्षमा ताला लगाइदिएका थिए ।
६ जना एमालेका सदस्यले लिए गोपनीयताको शपथ
नेकपा (एमाले)का ६ जना सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले दीपक कार्की, तुलसी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, विनोदकुमार शाह र दामोदर भण्डारीलाई केन्द्रीय सदस्यको शपथ गराएका हुन्।उनीहरू २६ औं सचिवालय बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका थिए।
मंगलबार राति १२ बजेबाट राष्ट्रिय सभा निर्वाचन आचार संहिता लागू
राष्ट्रिय सभा निर्वाचनको आचार संहिता मंगलबार राति १२ बजेबाट लागू हुँदैछ । माघ ११गते हुन लागेको निर्वाचनको आचार संहिताबाट आजबाट लागू हुन लागेको हो। निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार आयोगको अनुमति लिएर मात्रै नेपाल सरकार वा प्रदेश सरकारको मन्त्रीरस्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा जान पाइनेछ। यसरी जाँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न आयोगले निषेध गरेको छ। माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदैछ । जसका लागि ८ दलका ५२ उम्मेदवार मैदानमा छन्।
भिजिट भिसामा विदेश हिँडेका २७ जनालाई रोक्यो अध्यागमन कार्यालयले
भिजिट भिसामा विदेश हिँडेका २७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ । भ्रमण उद्देश्य नखुलाई युएई, कुवेत, कतार र मकाउ हिँडेका उनीहरूलाई फिर्ता ९अफलोड० गरिएको अध्यागमन कार्यालयले जनाएको छ। अफलोड गरिएकाहरूमध्ये अधिकांश युएई जान लागेका थिए। उनीहरूले आफ्नो आवश्यक कागजातसमेत नबोकेको र भ्रमणका बारेमा प्रस्टरूपमा भन्न नसकेपछि प्रस्थान अनुमति दिन अस्वीकार गरिएको हो ।
घरजग्गा किनबेचमा वृद्धी
गत पुस महीनामा घरजग्गा किनबेच बढेको देखिएको छ । पुसमा देशभरिका मालपोत कार्यालयबाट ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ। यो मंसीरका तुलनामा ८.१ प्रतिशत धेरै हो। पुसको कारोबार यो आर्थिक वर्षकै सर्वाधिक धेरै पनि हो। गत साउनयता कुनै महीना पनि यो परिमाणमा घरजग्गा किनबेच भएको थिएन । यसअघि मंसीरमा सर्वाधिक धेरै ४१ हजार ८५१ वटा घरजग्गा किनबेच भएको थियो। यो आर्थिक वर्षको सर्वाधिक थोरै घरजग्गा किनबेच कात्तिकमा भएको थियो। दशैंतिहारका कारण आधाभन्दा बढी दिन सरकारी कार्यालय बन्द भएका कारण कात्तिकमा २६ हजार ४६ वटा मात्रै घरजग्गा किनबेच भएको थियो।
सेयर बजार दुई वर्षयताकै उच्च
सेयर बजार कारोबार दुई वर्षयताकै उच्च भएको छ । मंगलबारको कारोबार ८ अर्ब नाघेको हो । नेप्से सूचक ५४ दशमलव ५४ अंकले बढेर २१७५ दशमलव १७ पुगेको छ । नेपाल स्टक एक्सचेन्जको रेकर्डअनुसार २०७८ माघ ४ पछि हालसम्मकै उच्च कारोबार भएको हो । आज तीन सय चार कम्पनीको दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर एक लाख ३३ हजार ६१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार चार सय छ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
पाकिस्तानको वातावरणीय नमूनामा विश्व व्यापी पोलियो भाइरस पत्ता लाग्यो
पाकिस्तानका ढल नमुनाहरूमा थप तीनवटा विश्वव्यापी पोलियो भाइरस फेला परेको छ । सन् २०२३ मा देशमा सकारात्मक नमूनाहरूको कुल योग एक सय १५ पुगेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरबाट डिसेम्बर ११ मा, सङ्घीय राजधानी इस्लामाबादबाट डिसेम्बर १२ मा र दक्षिणी बन्दरगाह शहर कराचीबाट डिसेम्बर १३ मा सङ्कलन गरिएको वातावरणीय नमूनामा भाइरस फेला परेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।
प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १४३ रनले हरायो
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ ओपनरसहित ३ खेलाडीको अर्धशतकको सहयोगमा सुदूरपश्चिमले लगातार दोस्रो जित निकालेको हो । यसअघि पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो । कर्णालीले भने पहिलो हार व्यहोरेको छ । यता आजै भएको खेलमा नेपाल पुलिस क्लब र बाग्मति प्रदेश पनि विजयी भएका छन् ।































प्रतिक्रिया