प्रशासन सेवा सामान्यज्ञ कि विशेषज्ञ ?

प्रशासन सेवा सामान्यज्ञ कि विशेषज्ञ ?

केन्द्रबिन्दु
21
Shares

सरकारले प्रशासनिक संयन्त्रमार्फत मानव संसाधनको उपयोग गर्दछ । मानव संसाधनको उपयोगबाट सरकारले आफ्ना अपेक्षित उपलब्धिहरू हासिल गर्ने प्रयास गरेको हुन्छ । प्रशासनिक संयन्त्रको सुसञ्चालन तथा प्रभावकारी व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा ज्ञान, सीप, सिर्जनशीलता र क्षमता भएका कर्मचारीहरुको मनोवल खस्कन नदिन राजनीतिक तथा प्रशासनिक नेतृत्व अत्यन्तै सचेत र संवेदनशील हुनु पर्दछ । निजामती सेवाको प्रभावकारी सञ्चालनको निम्ति यसमा कार्यरत कर्मचारीहरुको मनोबल खस्किन नदिने तर्फ सबैले सजग रहनु पर्दछ । निजामती सेवालाई दक्ष, जवाफदेही, पारदर्शी एवं नतिजा उन्मुख बनाउन यसमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुन्छ । कुनै एक सेवा समुहको एक्लो प्रयासले मात्र नेपालको निजामति सेवाको अस्तित्व रक्षा भएको छ भन्नु अतिवादी सोच मात्र हुनेछ ।

पछिल्लो समय निजामती सेवाका विभिन्न सेवा, समुह, उपसमुहको वृत्ति विकास र योग्यताको विषयलाई लिएर सार्वजनिक टिका टिप्पणी हुन थालेका छन् । निजामति सेवाका कुनै पनि कर्मचारीले प्रचलित कानुन बमोजिम निश्चित सेवा अवधि पूरा गरेपछि आफ्नो वृत्ति विकासको अपेक्षा गरेको हुन्छ । यो उसको अधिकारको विषय पनि हो । कानुनले तोकेको जिम्मेवारी पूरा गरेको र तोकिएको योग्यता पूरा भएमा कर्मचारीको वृत्ति विकास हुनु पर्दछ भन्ने विषयमा कसैको दुईमत रहँदैन । यस प्रति कर्मचारीहरुको चासोलाई अन्यथा लिनु पनि हुँदैन । यो स्वाभाविक पनि छ । आफ्नो वृत्ति विकासको विषयलाई लिएर कतिपय सेवा समुहको चासो र चिन्तालाई कसैले पनि अन्यथा लिनु हुँदैन ।

निजामति सेवाका कतिपय सेवा समुहको योग्यता, क्षमता, परीक्षा प्रणालीलाई लिएर टिका टिप्पणी भएका छन् । टेम्पो चालकको लाइसेन्सले हवाइजहाज उडाउने दुस्साहस गरेको, टिकमार्क लगाएर उत्तिर्ण भएका निकम्माहरु जस्ता विशेषणको प्रयोग भएको पाइएको छ । यस सम्बन्धमा थप बहस गर्नु भन्दा पहिला कुनै पनि सेवा सामान्यज्ञ हो या विशेषज्ञ प्रकृतिको हो भन्ने विषयलाई सँगै राखेर हेरिनु पर्दछ ।
एउटा सेवा, समुहको पदको लागि छनौट भएको कर्मचारी अर्को सेवा, समुहको पदको लागि उपयुक्त हुन्छ या हुँदैन भन्ने चौतर्फि वहसको विषय बनेको छ । यस प्रश्नलाई निरपेक्ष ढंगले हेरिनु हुँदैन । उक्त कर्मचारीलाई ऊ कार्यरत रहेको सेवा, समुह, उप समुहको पदको लागि तोकिएको कार्य र न्यूनतम योग्यतासँग जोडेर हेर्नु पर्ने हुन्छ । उक्त सेवा, समुह, उप समुहको पद सामान्यज्ञ हो या विशेषज्ञ प्रकृतिको हो भन्ने विषयलाई समेत सँगै राखेर हेर्न जरुरी छ ।

निजामती सेवाको नेपाल प्रशासन सेवा सामान्य प्रशासन समुहका पदहरुमा सामान्यज्ञ कर्मचारीको नियुक्तिको अपेक्षा गरिएको पाइन्छ । यस पदमा विशेषज्ञ कर्मचारीको खोजी गरिएको छैन भन्ने कुरा यसमा नियुक्ति हुने कर्मचारीले मान्यता प्राप्त शिक्षण संस्थाबाट तोकिएको तह वा सो सरह उत्तिर्ण भएको हुनु पर्ने भनी शैक्षिक योग्यता तोकिएको र कुनै विशिष्ट विषयको खोजी नगरिएबाट प्रष्ट हुन्छ । नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहको रा.प.तृ. श्रेणीमा खुला प्रतियोगिताबाट सेवा प्रवेश गर्ने कर्मचारीहरूलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट आधारभूत प्रशिक्षण दिइ कार्यक्षेत्रमा खटाइने गरिएको छ । यसबाट सेवा प्रवेश पछि आधारभूत ज्ञान, सीप प्रदान गरिएमा उक्त योग्यता भएका कर्मचारीले आफ्नो कार्यसम्पादन गर्न सक्छन् र कुनै विशिष्ट योग्यताको आवश्यकता पर्दैन भन्ने मन्यता राखिएको स्पष्ट हुन्छ ।

निजामति सेवाको उच्च तहमा विशेषज्ञभन्दा सामान्यज्ञको आवश्यकता महशुस गरिएको छ । उनीहरुबाट राजनीतिक नेतृत्व (सरकार) लाई सार्वजनिक नीति निर्माणमा सल्लाह, सुझाव, सूचना उपलब्ध गराउने र जारी गरिएका सार्वजनिक नीतिहरुको कार्यान्वयन गर्ने भूमिका प्रभावकारीरुपमा निर्बाह गरुन् भन्ने सैद्धान्तिक अपेक्षा गरिएको हुन्छ । यस किसिमको भूमिका निर्बाह गर्नको लागि कुनै एक विशिष्ट विषयको ज्ञान भन्दा पनि सबै पक्षको सामान्य ज्ञानको आवश्यकता पर्दछ भन्ने मान्यताका आधारमा कुनै विशिष्ट योग्यता तोकिएको पाईंदैन । यसकारण पनि उक्त पद विशेषज्ञ नभइ सामान्यज्ञ हो भन्न सकिन्छ ।

लोकतान्त्रिक राज्य व्यवस्थामा सार्वजनिक नीति निर्माण गर्ने कार्य राजनीतिक नेतृत्व (सरकार) को हो । सरकारलाई सार्वजनिक नीति निर्माणमा सल्लाह सुझाव तथा सूचना उपलब्ध गराउने र जारी भइसकेका नीतिहरु कार्यान्वयन गर्ने काममा प्रशासकहरुले प्रभावकारी भूमिका निर्बाह गर्नु पर्दछ । उक्त भूमिका कुनै एउटा निश्चित विषयमा मात्र केन्द्रीत नभइ समग्र विषयमा केन्द्रीत रहेर निर्वाह गर्नु पर्ने हुन्छ । यसको लागि कुनै एक क्षेत्रको विशेषज्ञको भन्दा पनि विभिन्न विषयमा जानकारी राख्ने सामान्यज्ञको आवश्यक्ता पर्दछ । विभिन्न मन्त्रालय, आयोग, सचिवालय, कार्यालयहरुमा सामान्य प्रशासनिक काम कारबाहिहरु सञ्चालन गर्न (जहाँ कुनै विशिष्ट ज्ञानको आवश्यकता पर्दैन) सामान्य ज्ञानले मात्र पनि पुग्छ भन्ने मान्यता राखिएको हुन्छ । त्यस्ता निकायहरुमा प्रशासन सेवाका कर्मचारीहरुको पदस्थापन गर्नुले यो सेवाका कर्मचारीहरु सामान्यज्ञ हुन भन्ने पुष्टी हुन्छ ।

नेपाल प्रशासन सेवाका उच्च पदहरुमा कमै मात्र प्राविधिक ज्ञानको आवश्यकता महसुस गरिएको छ । नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीमा कुनै समुहको परिकल्पना नगर्नुले समेत यसलाई थप पुष्टि गर्दछ । विभिन्न मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा गरेका कार्यसम्पदनबाट आर्जन गरेका अनुभवहरुका आधारमा कार्यसम्पादन गर्न सक्छ भन्ने मान्यता राखिएको छ । यस किसिमको पदमा विशेषज्ञताको खोजी गरियो भने यसले आफ्नो आधारभूत चरित्र गुमाई न त विशेषज्ञ न त सामान्यज्ञको रुपमा परिणत हुनेछ । निजामती प्रशासनलाई परिणाममुखी, सार्थक र सेवाप्रति प्रतिबद्ध बनाउन, नेतृत्वदायी भूमिका निर्बाह गर्न प्रशासनिक नेतृत्वमा सामान्यज्ञको नै आवश्यकता महसुस गरिएको अवस्था छ । यसको निम्ति कुनै विशिष्ट विषयको शैक्षिक योग्यताको परिकल्पना गरिएको छैन ।

प्रशासन सेवा विशेषज्ञ सेवा भएको भए यसको लागि कर्मचारी छनौट गर्दा नै कुनै विशिष्ट विषयगत योग्यताको अपेक्षा गरिएको हुन्थ्यो । कर्मचारीको कार्यक्षमता र उत्पादकत्व बढाउनु पर्ने क्षेत्रमा विशेषज्ञ जनशक्तिको आवश्यकता रहन्छ । नेपालको निजामति सेवामा विशिष्ट योग्यता र क्षमता आवश्यक पर्ने क्षेत्रको पहिचान गरेर केही सेवा, समुह, उपसमुहहरुमा विशिष्ट योग्यतालाई समेत अनिवार्य गरिएको छ । तर प्रशासन सेवामा यस किसिमको विशिष्ट योग्यताको अपेक्षा गरिएको छैन ।

जुनसुकै विषय लिई तोकिएको तह उत्तिर्ण भएका ब्यक्तिलाई प्रशासन सेवाको पदको लागि प्रतिश्पर्धामा उम्मेदवार हुन दिनुको अर्थ उक्त पदको कर्मचारीलाई सामान्यज्ञको रुपमा स्विकार गरिनु हो । कुनै पनि पदको लागि दरखास्त दिँदा त्यस पदसँग सम्बन्धित योग्यता अनिवार्यरूपमा हासिल गरेको हुनुपर्छ । कुनै पदका लागि योग्यता पुगेको व्यक्ति त्यस्तो पदको लागि योग्य नै हुन्छ । कुनै पनि पदका लागि उम्मेदवार हुनका लागि योग्य ब्यक्ति उक्त पदको लागि पनि योग्य नै हुन्छ । त्यसैले सामान्यज्ञको रुपमा उम्मेदवार हुनका लागि तोकिएको योग्यता पुगेको ब्यक्तिलाई उक्त पदको लागि योग्य हो भन्नुमा अत्युक्ति नहोला ।

नेपालको निजामति सेवामा कतिपय सेवा, समुह, उपसमुहको व्यवस्था गरी विशिष्ट विषयहरुसहित को शैक्षिक योग्यता समेत तोकेर विशेषज्ञताको अपेक्षा गरेको पनि पाइन्छ । कतिपय सेवा, समुह, उपसमुह अन्तरगतको कुनै पदमा नियुक्ति हुनका लागि न्यूनतम योग्यता प्रशासन सेवासँग समान रहेको र उक्त पदको लागि थप कुनै योग्यताको समेत अपेक्षा गरिएको पाइन्छ । यसरी थप योग्यता आवश्यक पर्ने पदलाई विशेषज्ञ पदको रुपमा लिन सकिन्छ भने सबैलाई आवश्यक मानिएको योग्यता मात्र भए पुग्ने र थप योग्यताको आवश्यकता महशुस नगरिएको पदलाई सामान्यज्ञ मान्न सकिन्छ ।

सबै किसिमका सेवामा समान खालका योग्यताहरु तोकिएका हुँदैनन् र सबै सेवाको कार्य प्रकृति एकै किसिमका पनि हुँदैनन् । कुनै पनि सेवाको लागि के कस्तो योग्यता हासिल गरेको हुनु पर्छ भन्ने विषय त्यस सेवाको पदमा रहेर सम्पादन गर्नु पर्ने कामको प्रकृतिमा निर्भर गर्दछ । कुनै सेवाको आफ्नै मौलिक उद्देश्य हुन्छ र सो उद्देश्य प्राप्तिका लागि विशिष्ट योग्यताको आवश्यकता पर्दछ । कुन पदको लागि कस्तो योग्यता आवश्यक पर्ने हो भन्ने विषय त्यो सेवाको पदको विशिष्टीकृत कामको प्रकृतिमा निर्भर हुन्छ । विशेषज्ञको रुपमा नियुक्त भएको कर्मचारीले सामान्यज्ञको पदको लागि आवश्यक योग्यता पूरा गरेर थप विशिष्ट योग्यता समेत हासिल गरेका कर्मचारीले सामान्यज्ञको रुपमा कार्यसम्पादन गर्न सक्दैनन् भन्नु चाहीँ उचित हुँदैन । सेवा प्रवेशको न्यूनतम योग्यता समान भएका कर्मचारीहरुबाट अपेक्षा गरिएको ज्ञान सिप र क्षमता पनि समान नै हुन्छ । कसैले आफू सेवा प्रवेश गरिसकेपछि समान योग्यता भएका अन्य व्यक्तिहरुलाई टेम्पो चालक र आफूलाई पाइलट देख्नु उचित होइन । किनकि विशेषज्ञ सेवामा रहेका कर्मचारीहरुसँग जनरलिस्टको बराबरको योग्यताको साथ साथै अर्को थप विशिष्ट योग्यता पनि छ भन्ने यथार्थ स्विकार गर्ने हिम्मत राख्नु पर्दछ । यो नै योग्यता प्रणालीको मर्म पनि हो ।

सेवा प्रवेशको लागि आफूले हासिल गरेको योग्यता ठिक अन्यको सोही योग्यता वेठिक भन्नु पुर्वाग्रही हुन जान्छ । कर्मचारीहरुको छनौट गरी शिफारिस गर्ने सक्षम निकायद्वारा सोचि विचारी अवलम्बन गरिएको परीक्षा प्रणालीलाई आफू अनुकुल ब्याख्या गर्नु उचित होइन । आफू सामेल भएको परीक्षा प्रणाली उत्तम र समान योग्यता भएका अर्को ब्यक्ति सामेल भएको परीक्षा प्रणाली वेठिक भन्नु न्यायसँगत हुँदैन ।

विशेषज्ञको रुपमा कार्यरत कुनै पनि कर्मचारीलाई सामान्यज्ञको रुपमा कार्यसम्पादन गर्नु पर्ने सेवा समुहको पदमा समायोजन गर्दा कुनै सेवा समुहको वृत्ति विकासमा असर पर्छ भन्ने सम्मको तर्क स्विकार गर्न सकिन्छ । तर योग्यता प्रणालीमा नकारात्मक असर पर्ने चाहीँ देखिँदैन । शैक्षिक योग्यता समान भएका अन्य कर्मचारीहरुले विभिन्न तालिमको माध्यमबाट कार्यक्षमता अभिवृद्धि गर्ने र कार्यसम्पादन स्तरमा गुणात्मक सुधार गर्ने प्रकृतिको सेवा समुहमा काम गर्नै नसक्ने निकम्मा हुन्छन् भन्नु चाहीं उपयुक्त होइन । निजामति सेवामा कार्यरत कर्मचारीहरुको ज्ञान सीप दक्षता र कार्यसम्पादनस्तर समेतको आधारमा वदलिँदो परिवेशमा कर्मचारीलाई अभ्यस्त बनाउन प्रशासनको क्षेत्रमा विकसित नयाँ प्रविधि तथा ज्ञान सीप अभिवृद्धि गराउँदै जानेतर्फ सरकारले उपयुक्त नीति अवलम्बन गरेको खण्डमा तोकिएको न्यूनतम योग्यता पूरा गरेका कर्मचारीहरुले कार्यसम्पदन गर्न नसक्ने भनि होच्याउनु पर्ने अवस्था आउँदैन ।

प्रशासन सेवालाई विशेषज्ञ पदमा रुपान्तरण गर्ने हो भने विशिष्ट योग्यताको रुपमा जनप्रशासनमा तोकिएको डिग्री हासिल गरेको ब्यक्तिलाई मात्र छनौट गर्ने र अन्य विषयलाई स्विकार नगर्न सकिन्छ । यसरी विशिष्ट योग्यताको आधारमा छनौट भएका कर्मचारीहरुमा प्रशासनिक विशेषज्ञता रहन्छ । त्यसैले आफू बाहेक अन्य सबै सेवाका कर्मचारीहरु निकम्मा हुन् भन्नु भन्दा प्रशासन सेवालाई विशिष्टिकरण गर्न सकिन्छ या सकिंदैन भन्ने विषयमा थप अध्ययन अनुसन्धान हुन आवश्यक देखिन्छ ।

Skip This
Skip This
Logo