अप्रत्याशित प्रदर्शनः माग सकारात्मक, सन्देश नकारात्मक !

अप्रत्याशित प्रदर्शनः माग सकारात्मक, सन्देश नकारात्मक !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी फैलिएको छ । भाइरसको संक्रमणबाट विश्वभर ४ लाख २३ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म ७५ लाख ९८ हजार भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ३८ लाख ४२ हजार भन्दा बढी निको भएका छन् ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमणबाट १५ जनाको ज्यान गइसकेको छ भने ४ हजार ६ सय १४ जना संक्रमित भएका छन् । अहिलेसम्म ८ सय ६१ जना निको भएका छन् । बिहिबार मात्रै दुई सय ५० जना संक्रमित थपिए । एकातिर कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढ्दो छ भने अर्काेतिर लकडाउनको विरोध चर्काे छ । चर्काे विरोधसँगै सरकारले ७९ दिनपछि बिहिबारदेखि लागू हुने गरी लकडाउनको मोडल फेरबदल गरेको छ ।

यतिबेला नेपालमा दुई वटा कुरा ‘हटकेक’ बनिरहेका छन् । पहिलो कोरोना संक्रमण र दोस्रो नयाँ नक्साका लागि संविधान संशोधन ।

छिमेकी मुलुक भारतले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्साका गाभेर सडक सञ्जाल विस्तार गरी उद्घाटन गरेपछि सरकारले पनि सोही भूभाग समेटेर नयाँ नक्सा जारी ग¥यो । अब नयाँ निशान छापका लागि संविधान संशोधनको प्रक्रिया चलिरहेको छ । यस विषयमा तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीबाहेक सबै सांसदहरु एकढिक्का भएका छन् । सरकारको यो कदमको चौतर्फी वाहवाही भएको छ ।

तर यति नै बेला सरकारविरुद्ध अप्रत्याशित र क्रियटिभ प्रदर्शन शुरु भएको छ । गत मंगलबारदेखि शुरु भएको प्रदर्शन पछिल्लो समय दिनहुँ जसो देशका विभिन्न भागहरुमा फैलिएका छन् । काठमाडौं, पोखरा, चितवन, विराटनगर, धरान, वीरगञ्ज लगायत करिव ३० ठाउँमा जारी प्रदर्शनमा सहभागिहरु प्राय युवावर्ग देखिन्छन् । उनीहरुको नारा र माग सुन्दा यो एकखालको आधुनिक र क्रियटिभ प्रदर्शन भन्न सकिन्छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रदर्शन नेपालमा धेरैपछिको ठूलो प्रदर्शन हो । जहाँ सयौं युवायुवतीहरु सहभागि थिए ।

तर यसका आयोजक को हुन् भन्ने विषय अझै खुलेको छैन । कतिपयले स्वतस्फूर्त भनिरहेका छन् भने कतिपयले परिचालित समूह भनिरहेका छन् । तर सामाजिक सञ्जाल फेसबुक पेज कोभिड १९ नेपाल ः इनफ इज इनफको सक्रियता भने बाहिर देखिएको छ ।

एकातिर कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ, अर्काेतिर सरकारले पिसिआर भन्दा आरडिटीलाई जोड दिएको छ । त्यस्तै कतिपय ठाउँमा बनाइएका क्वारेन्टाइनहरु छाउगोठ जस्ता देखिएका छन् । क्वारेन्टाइन र आइसोलेशनको सही व्यवस्थापन र उपचार नहुँदा अकालमा विरामीको मृत्यु भएको छ ।

यावत कारणकाबीच १० अर्वको खर्च विवरण सार्वजनिक भएपछि विरोधको स्वर थप बुलन्द बनेको हो । प्रदर्शनकारीको मुख्यतः दुई माग छन् । पहिलो माग १० अर्वको हिसाव किताव बुझाउ, दोस्रो माग पिसीआर टेष्ट बढाउ । प्रदर्शनकारीहरुको नारा छ, आरडिटी बन्द गर, पिसीआर टेष्ट बढाउ, १० अर्वको हिसाव किताव देखाउ । यो प्रदर्शनमा प्रतिपक्षी, भारत र राजावादीहरुको हात रहेको पनि धेरैको अड्कल छ । अहिले कतिपयले आशंका गरे जस्तो भित्रि आशय जे जस्तो भएपनि बाहिर देखिएको वास्तविकता यत्ति हो । तर यो अप्रत्याशित प्रदर्शन सोचनीय भने पक्कै छ ।

बिहिबारको प्रदर्शनका विषयमा भारतीय सञ्चार माध्यमहरुले प्रकाशन, प्रशारण गरेका टिका टिप्पणीले पनि प्रदर्शनकारीमाथि आशंका जन्मिएको छ । राष्ट्रियताका सवालमा एकजुट हुनुपर्ने बेलामा भएको यो प्रदर्शनले गलत म्यासेज प्रवाह भइरहेको छ । माग सकारात्मक भए पनि भारत लगायत अरुसामू नकारात्मक सन्देश प्रवाह भइरहेको छ । यसले राष्ट्रियताको सवाल कमजोर बनाउने पक्का छ । कतिपयले आंशका गरे जस्तै सरकार र व्यवस्था फेरवदलका लागि प्रदर्शन भएको हो भने यो समयमा त्यो माग पनि उचित पक्कै होइन ।

युवायुवतीहरुले लकडाउनको सदुपयोग गर्दै सरकारविरुद्ध नारावाजी गर्न प्रदर्शनस्थल पुगेका हुन् या आशंका गरिए जस्तै प्लानसहित परिचालित भएका हुन् त्यो विस्तारै खुल्ला । तर यो प्रदर्शनलाई सरकारले ख्यालठट्टा सम्झिनु भूल हुन्छ । प्रदर्शनकारीमाथि लाठिचार्ज, पानीको फोहोरा र गालीगलौज, आरोप र आंशका होइन माग सम्बोधन जरुरी छ ।

उनीहरुको माग सामान्य छन् जुन अत्यावश्यक पनि छन् । आरडिटी परिक्षण विश्व समुदायले नै निषेध गरेको प्रविधि हो त्यसकारण यसलाई बन्द गरि पिसिआर परिक्षणको दायरा बृद्धि गर्नुपर्छ । जहाँसम्म १० अर्वको हिसाव कितावको प्रसंग छ त्यस सम्बन्धमा अर्थमन्त्री डा.युवराज खतिवडाले विस्तृत विवरण सार्वजनिक गर्ने बताइसकेका छन् । यस विषयले सरकारले विस्तुत विवरण सार्वजनिक गर्न जरुरी छ ।

तर सरकारले उनीहरुको माग सम्बोधन गर्नतिर भन्दा पनि कारवाही गर्नतिर ध्यान दिएको देखिन्छ । गृह मन्त्रालयले बिहिबार मात्रै सूचना प्रकाशन गर्दै ६ सय रुपैंयाँ जरिवाना र ६ महिना जेल सजायँ हुने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीतिको प्रवेश भएको टिप्पणी गरेका छन् ।

यस्तो टिप्पणीले थप युवाहरुको रगत झनै उम्लिने छन् । स्परण होस् गत मंगलबारको प्रदर्शनमा प्रहरीले धरपकड गरेपछि प्रदर्शनकारीको संख्या मात्रै थपिएका छैनन् प्रदर्शनस्थल र उनीहरुको आवेश र आक्रोस समेत चुलिएका छन् । बिहिबारको धरपकड र गृह मन्त्रालयको सूचनापछि युवाहरु थप आक्रोशित भएका छन् । भिषण डढेलो सलाईको सानो काँटीबाटै शुरु हुने हो तसर्थ युवाहरुको यो आवाजलाई तत्काल सम्बोधन गर्नु नै बुद्धिमानी हुन्छ ।

Skip This
Skip This
Logo