- विशेष सम्वाददाता-
काठमाडौं- सरकारले बाहिरी विश्वका झण्डै ३ दर्जन कुटनैतिक मुकाममा नियुक्त गर्ने राजदूतमध्ये औसतमा ५०–५० प्रतिशतको हिस्सामा कुटनैतिक सेवा र राजनैतिक वृत्तका पात्रहरु पर्ने गरेका छन् ।
यीमध्ये अधिकांस राजनैतिक नियुक्तीहरु आसेपासे, पार्टीगत भरौटे र जी–हजुरीमा निर्लिप्तमध्येबाटै हुने गरेको दृष्टान्त हामी सामु छ । अहिलेको उदाहरण दिने हो भने ओमान, बहराइन, कतार, म्यानमार, भारत, चीन, बंगलादेश, जापान, इजराइल, साउदी अरेबिया, अमेरिका (वासिङटन) जस्ता मुलुकका राजनैतिक नियुक्तीको वर्चस्व छ । दक्षिण कोरिया, दक्षिण अफ्रिका, श्रीलंका जस्ता मुलुकमा राजदूत पद रिक्त रहेको एक बर्ष बितिसकेको छ ।
तोकिएको ४ बर्षे कार्यकाल पुरा गरेर पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निकटस्थ भएकै कारण वासिङटनस्थित राजदूत अर्जुन कार्की ८ महिनायता पुनःराजदूतकै पदमा पदासिन छन्, अनिश्चित कालका लागि । पुनः राजदूत बन्नका निम्ती उनले प्रधानमन्त्रीको राम्रै चाकडी गरेको बताइन्छ ।
विडम्वना के भने यीमध्ये जे–जस्तो कुटनैतिक क्षमता र प्रशासनिक कार्यदक्षता देखाएपनि राजनैतिक नियुक्ती भन्नासाथै ‘काम नलाग्ने र असफल’ कुटनैतिक पात्रका रुपमा परराष्ट्र मन्त्रालयले नियुक्तीको पहिलो दिनदेखि नै खेल सुरु गरिसकेको हुन्छ । जहिल्यै परराष्ट्र मन्त्रालयको दृष्टि र प्रशासनिक संयन्त्रमा ‘बहिष्कृत’ अवस्थामा रहने भनेको पनि यिनै राजनैतिक नियुक्तीका पात्र नै हुन् ।
पछिल्लो उदाहरणमा भारत र चीनका राजदूतहरु पर्न सक्छन् । २ महिनाअघि मात्रै आकस्मिक रुपमा बेइजिङबाट फिर्ता बोलाइएका राजदूत लिलामणि पौड्याललाई आखिर किन बोलाइएको हो भन्ने जवाफ परराष्ट्रमन्त्री वा सचिव कसैले अहिलेसम्म दिन सकेका छैन् । माओवादी विश्वासपात्रका रुपमा ३ बर्ष ४ महिनाअघि बेइजिङ पठाइएका पुर्व मुख्य सचिव पौडेलले चिनियाँ राष्ट्रपछि सि जिनपिङको नेपाल भ्रमण गराउन सकेका थिए । चीनसँग पारवहन सन्धी र अन्य व्यापारिक सेवासर्तका काम उनैले सम्पन्न गराएका थिए । तर, ‘अकारण’ उनी फिर्ता बोलाइए र, त्यो स्थानमा पुर्व परराष्ट्रमन्त्री र कट्टर एमाले कार्यकर्ता महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निक्र्यौल भइसकेको छ ।
यता भारतमा पनि ८ महिनाअघि मात्रै राजदूत बनाएर पठाइएका निलाम्बर आचार्य आफैंमा प्राज्ञिक र विवेकशिल चिन्तक हुन् । यसअघि श्रीलंकामा राजदूत भइसकेका र नेपाल–भारत प्रबुद्ध समुहका सदस्यसमेत रहेका आचार्यले जहिल्यै पनि ‘काम गर्नै नसक्ने, ७६ बर्षिय बयोबृद्ध र धार्मिक चिन्तनको मात्रै भर पर्ने’ जस्ता बिशेषण झुण्ड्याएर आचार्यलाई तत्कालै असफल बनाइछाड्ने ध्याउन्नमा लागेको देखिन्छ परराष्ट्र मन्त्रालय । दिल्लीस्थित दूतावासमा रहेका उपनियोग प्रमुख सहसचिव भरतकुमार रेग्मीले आफू मुख्यसचिव लोकदर्शन रेग्मीको भाइ भएकै आधारमा धेरै खालका निर्णय गर्ने तहमा रहेको भन्दै राजदूत आचार्यलाई ‘नजरअन्दाज’ गर्दै आएको पृष्ठभूमीमा काठमाडौंमा परराष्ट्रका अधिकारीले पनि यही कुरामा मलजल गरिरहेका भेटिन्छन् ।
कार्यदक्षता मुल्यांकन नहेर्ने र लगातार खेदो मात्रै गरिरहने परराष्ट्रकै प्रवृत्तिका कारण यसअघि डा.विश्वम्भर प्याकुर्याल (श्रीलंका), हमिद अन्सारी(साउदी अरेबिया), लक्की शेर्पा (अष्ट्रेलिया), लिलामणि पौड्याल(चीन), दीपकुमार उपाध्याय (भारत) सहितका राजनीतिक नियुक्तीका पात्रहरु असमयमैं फिर्ता बोलाइएका हुन् ।
अबको चरणमा दिल्लीस्थित राजदूत निलाम्बर आचार्य असमयमैं फर्किएर आउने अवस्था सृजना भइसकेको छ, परराष्ट्रको कार्यशैली र सधैंको ‘काखापाखा’ सोचका कारण ।





























प्रतिक्रिया