काठमाडौं ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारले बन्दाबन्दी अवधिमा विद्युत् महसुलमा छुट दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको भनी गुनासो गरेका छन् । शून्य समयमा नेपाली कांग्रेसकी तारादेवी भट्टले गत चैत र वैशाखको कूल १५० युनिटसम्म २५ प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नभएकामा आपत्ति जनाइन् ।
“आफैंले गरेको निर्णय कार्यान्वयन नहुने यो सरकारको कस्तो निर्णय हो”, उनले भने । यस्तै नेपाल टेलिकमले ग्राहकलाई विभिन्न सेवामा छुट दिने भनेर गरिएको निर्णयसमेत कार्यान्वयन नभएकामा उनले रोष प्रकट गरिन् ।

सोही दलकी अनिता देवकोटाले जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोतीमा भएको घटना सेलाउन नपाउँदै सप्तरीमा एक महिलालाई बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको जनाउँदै दोषीमाथि कडा सजायको माग गरिन् ।
नेकपाकी उदया शर्मा पौडलले कोभिड–१९ कारण धेरैको रोजीरोटी गुमेकाले ठाउँठाउँमा आत्महत्याका घटना बढेको तथा कतिपय निकाय एवं संस्थाले कर्मचारी निकाला गरेकाले बन्दाबन्दी खुकुलो बनाई जनजीवन सहज बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् । सोही दलकी कोमल वलीले त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकको करार सम्झौता कार्यान्वयन नभएको भनी चिन्ता व्यक्त गरिन् ।































प्रतिक्रिया