जसपा नेतृत्वमा डा. भट्टराईले पहिलो वरियता नछोडेपछि टिपेक्स लागेको खुलासा

जसपा नेतृत्वमा डा. भट्टराईले पहिलो वरियता नछोडेपछि टिपेक्स लागेको खुलासा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वबाट डा. बाबुराम भट्टराई पछाडि हटेका छन् । आइतबार दल दर्ताका लागि आवश्यक कागजपत्र बुझाउनु पर्ने कानुनी बाध्यता हुनु र नेतृत्वमा सहमति जुट्न नसक्नुलाई मध्यनजर गर्दै डा.भट्टराई वरियताबाट पछाडि हटेका हुन् ।

डा. भट्टराईले बाटो सहज बनाएसँगै जसपा निर्वाचन आयोगमा दर्ता भएको छ । दल दर्ता भएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दुई अध्यक्ष र तीन वरिष्ठ नेता रहने गरी ५३ सदस्य सहितको कार्यकारी समितिको तर्फबाट दल दर्ता भएको जानकारी दिएका थिए । उनले जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव र वरिष्ठ नेतामा अशोक राई, डा. बाबुराम भट्टराई र (स्वयम्) राजेन्द्र महतो रहने सहमति भएको बताए । तर एकीकृत पार्टीमा नेतृत्व बाँडफाँडमा सहमति जुटेको भन्दै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष महन्त ठाकुर र उपेन्द्र यादवलाई बनाउने तय भएको समाचारहरु बाहिरीएका थिए । ती समाचारहरुमा जसपाको नेतृत्वको वरीयतामा महन्त ठाकुर पहिलो, डा. भट्टराई दोस्रो, उपेन्द्र यादव तेस्रो, अशोक राई चौथो र राजेन्द्र महतो पाँचै नम्बरमा रहेको उल्लेख गरिएको थियो । तर निर्वाचन आयोगमा दर्ता गर्न दिइएको कागजपत्रमा जसपामा पहिलो नम्बरमा ठाकुर दोस्रोमा यादव तेस्रोमा राई र चौथोमा डा.भट्टराई रहेका छन् । भने पाँचौ वरियतामा महतो रहेका छन् ।

श्रोतका अनुसार डा. भट्टराईलाई दोस्रो वरियतामा राख्ने सहमति भएको थियो । तर डा. भट्टराई पहिलो वरियता आफूले पाउनु पर्ने अडानमा थिए भने ठाकुर पहिलो वरियता छोड्ने पक्षमा थिएनन् । डा. भट्टराईलाई पहिलो वरियतामा राख्ने सहमति नजुटेपछि डा. भट्टराईले अन्तिममा संघीय परिषद्को अध्यक्ष हुन अस्वीकार गरेको श्रोतको दाबी छ । डा.भट्टराईले अस्वीकार गरेसँगै उनको नाम टिपेक्सले सच्याएर वरिष्ठ नेताको सूचीमा राखिएको थियाे। तर तत्कालीन समाजवादी पार्टीका सहायक प्रवक्ता विश्वदीप पाण्डेले सहमतिमा नै बाबुराम भट्टराईले चौथो वरियतामा गएको दाबी गरेका छन् । उनले आइतबार फेसबुक स्टाटर्स लेख्दै भट्टराईले पार्टी एकीकरण सफल पार्न वरियतामा पछाडि हटेको बताएका हुन् । आइतबार दल दर्ता गर्नुपर्ने अन्तिम दिन भएकाले कानुनी बाध्यताका कारण भट्टराईको वरियता तल परेपनि पार्टी दर्ता गराइएको बाँकी निर्णय केन्द्रीय कमिटीको बैठकले गर्ने उनको भनाइ छ ।

‘बाहिर अनेकन हल्ला चलेकोले प्रष्ट पार्न चाहन्छु । सबै कुरा सहमतिमा भएको छ’–उनले फेसबुकमा लेखेका छन्–‘धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेको र निर्वाचन आयोगमा आजै पुग्नुपर्ने बाध्यता भएकोले आज २ पार्टीबाट १/१ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो । कोही साथीहरु पनि बाहिर चलेका हल्लाहरुबाट भ्रमित हुन जरुरी छैन । बाँकी कुरामा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले सबैलाई चित्तबुझ्दो निर्णय गर्नेछ ।’

बाँकी नेताको जिम्मेवारी बाँडफाँड दल दर्ताको प्रक्रिया पूरा भएपछि गरिने वरिष्ठ नेता महतोको भनाइ छ । महतोले जसपामा राजनीतिक समितिमा १ सय ५१ सदस्य र केन्द्रीय समितिमा ७ सय १ जना रहने सहमति भएको बताएका छन् । त्यस्तै पार्टीको घोषणापत्र र विधान लेखनको काम समेत पूरा भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ८ मा राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याएका थिए । सो अध्यादेशले कुनै पनि पार्टी फुटाउन संसदीय दलमा कूल संख्याको ४० प्रतिशत मत भए पार्टी फुटाउन सकिने व्यवस्था गरेको थियो । यो अध्यादेश ल्याउनु भन्दा पहिले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत मत आवश्यक पर्दथ्र्यो । सोही अध्यादेशको आधारमा संघीय समाजवादी पार्टीका सात जना सांसदले पार्टी फुटाउन थालेका थिए । तत्कालीन समाजवादी पार्टीमा कूल १७ सांसद रहेका थिए । पार्टी फुटाउने सुइको पाएको समाजवादी नेतृत्वले राष्ट्रिय जनता पार्टीसँग वैशाख १० मध्यराति पार्टी एकता गर्ने घोषणा गरेको थियो । पार्टी एकता भएको भोलिपल्ट निर्वाचन आयोगमा जानकारी गराउन गएको आइतबार ४५ दिन पूरा भएको थियो । दल दर्ताको निवेदन दिएको ४५ दिनमा आवश्यक कागजपत्र बुझाउन नसके पुन पार्टी एकता गर्नुपर्ने हुन्छ । सोही व्यवस्था अनुसार हतार हतार आइतबार साँझ जसपा निर्वाचन आयोगमा दर्ता गरिएको हो ।

Logo