महामारीमा मानसिक स्वास्थ्यको व्यवस्थापन कसरी गर्ने ?

महामारीमा मानसिक स्वास्थ्यको व्यवस्थापन कसरी गर्ने ?

केन्द्रबिन्दु
0
Shares

सन् २०१९ को अन्त्यबाट सुरु भएर २०२० को पाँच महिना बितिसक्दा पनि पुरा जगत कोरोना भाइरसबाट सिर्जित महामारीसँग निरन्तर लडिरहेको छ ।

भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि बन्दाबन्दीको पूर्ण पालना, सामाजिक दुरी कायम, मास्कको प्रयोग, सरसफाई र सेनीटाइजरको उचित प्रयोग, संक्रमणको भएकालाई क्वारेन्टाइनको व्यवस्था, संक्रमण भएमा आइसोलेशनमा राखेर उपचार गर्दागर्दै पनि नियन्त्रण हुनुको सट्टा संक्रमित र संक्रमणको कारणले मृत्यु हुने मानिसको संख्या दिनानुदिन बढ्दै गईरहेको छ ।

विश्व समुदाय, प्रत्येक देश, समाज, र व्यक्तिले आफ्नो स्तरबाट यो महामारीको विरुद्ध लडिरहेका छन् । यो महामारी सुरु हुनुभन्दा पहिले सहज स्थितिमा व्यापार ब्यबसाय गर्ने, अध्ययन अध्यापन गर्ने, समुहमा भेला भएर रमाइलो गर्ने, सामुहिक खानपान र भोज भतेरमा रमाउने, साथीभाई वा परिवार मिलेर सामुहिक यात्रा गर्ने आदि तरिकाले सामाजिक जीवनशैली बिताईरहेका हामीहरु मध्ये कोही संक्रमित भएर आइसोलेसनमा उपचाररत छौ । कोही संक्रमण पुस्टि भएर पनि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै क्वारेन्टाइनमा छौ भने हामी बाँकी मानिसहरु संक्रमणबाट जोगिन लकडाउनको पुर्ण पालना गरेर घरमा बसिरहेका छौं ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु आफ्नो कर्म र धर्म निभाईरहेका छन् । हिजो निर्वाध रुपमा चलिरहेको जिन्दगी अहिले घरभित्र सिमित घेरामा खुम्चिन पुगेको छ । रोजगारी लगायत व्यवसनयीक आय आर्जनका श्रोतहरु गुमिरहेको स्थिति छ । अभाव बढ्दो छ भने भविष्यको चिन्ता त्यतिकै छ । यो परिस्थितिको सामना गर्ने क्रममा हामीहरु वा हाम्रा आफन्तहरुमा मानसिक विचलन उत्पन्न हुन सक्छ । जुन विचलनको कारणले व्यक्ति स्वयम्, परिवार र समाजलाई नै ठूलो क्षति हुन सक्छ । मानसिक विचलनको कारणले निम्न समस्याहरु उत्पन्न हुन सक्छन् ।

डिप्रेसन

डिप्रेसन एक ‘मुड डिसअर्डर’ हो जसले दुःखको निरन्तर भावना र रुचि गुमाउने गर्दछ । यसले विभिन्न भावनात्मक र शारीरिक समस्या निम्त्याउन सक्छ । मन उदास हुनु, नकारात्मक विचार आउनु, कुनै पनि काममा केन्द्रित हुन नसक्नु, अस्थिर हुनु, अनिन्द्रा वा अतिनिन्द्रा लाग्नु, बिनाकारण थकाई महसुस हुनु, आत्मग्लानी भैरहनु, आत्महत्याको विचार आउनु, पहिले आनन्दित हुने कुरामा पनि आनन्द आउन छोड्नु, एक्लै बस्न मन लाग्नु आदि डिप्रेसनको लक्षणहरु हुन् ।

एन्जाइटी

‘एन्जाइटी’ भनेको भावि हुने घटनाको बारेमा डराउने वा चिन्तित हुने हो । बिनाकारण आत्तिनु , तर्सिनु, छट्पटी हुनु, डर लाग्नु, मुटुको धड्कन बढ्नु, स्वस्प्रस्वसको गति बढ्नु, निन्द्रा नपुग्नु , होस गुम्ला कि भन्ने विचार आउनु, मुख सुक्नु, चिटचिट पसिना आउनु, शरीर झमझमाए जस्तो लाग्नु, शरीरमा केहि हिडेजस्तो लाग्नु आदि एन्जाईटिको लक्षणहरु हुन् ।

अनिन्द्रा

सुतेर निदाउन नसक्नु, निदाएर पनि गहिरो निन्द्रा नपर्नु, ब्युझिरहनु, निदाएर उठ्दा फ्रेश नहुनु, दिउसो अत्याधिक थकान हुनु आदि अनिन्द्राको लक्षणहरु हुन् ।

फोबिया 

कुनै पनि व्यक्ति, बस्तु, समाज, ठाउँ वा परिस्थितिसंग निरन्तर डर लागिरहनु फोबियाको लक्षणहरु हुन् । माथि उल्लेखित समस्याहरु मानसिक बिचलनबाट उत्पन्न हुने रोगहरु भएको हुनाले यी रोगहरुबाट बच्नको लागि मन र भावना बिचलन हुनबाट रोक्नु पर्दछ । आफ्नो मन र भावना बिचलन हुनबाट रोक्नको लागि हामी आफैले निम्न उपायहरु अपनाउन सक्छौं ।

एउटा प्रचलित उखान छ, ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनुू । यो समय आत्मरक्षाको समय हो । यो समयमा जोगाई राख्नु पर्ने बिउ भनेको आफ्नो प्रर्ण ब्यक्तित्व अर्थात आफ्नो शरीर, मन र भावना हो । त्यसकारण यो समयमा आफ्नो र आफन्तहरुको सुरक्षामा केन्द्रित हुने र यो सुरक्षित बसाइलाई उपलब्धिको रुपमा स्वीकर गर्ने बानी बसाइ यसमा खुसी महसुस गर्ने अभ्यास गर्नु पर्दछ ।

आफ्नो भविष्यका योजनाहरु अहिलेलाई थाति राखेर ती योजनाहरु पुरा गर्नको लागि तपाईमा भएको बुद्धी, विवेक, ज्ञान, स्वभाव, बुझाई र आत्माबिश्वसलाई बचाउन र अझ चुस्त बनाउन केन्द्रित हुदै वर्तमानको आत्मारक्षासंग जोडेर अनुभव गर्नु पर्दछ । मनमा आएका विचारहरु आफन्त, परिवारमा प्रत्यक्ष आदानप्रदान गर्ने वा साथीहरुसँग फोन, इन्टरनेटको माध्यमबाट सेयर गर्नु पर्दछ ता कि ति बिचारहरु मनमा गुम्सिएर मानसिक र भावनात्मक बिचलनका कारण नबनुन् ।

संकटको समयमा प्रमुख सम्पत्ती आफ्नो स्वास्थ्य र ब्यक्तित्व हो । स्वास्थ्य र व्यक्तित्व भनेको शरीर मन र भावनाको उपयुक्त संयोजन हो । त्यसकारण शरीर स्वास्थ्य राख्न व्यायाम गर्नु पर्दछ । मन स्वास्थ्य राख्न ध्यान गर्नु पर्दछ । भावना स्वास्थ्य राख्न भाव र बिचारहरुलाई सेयर गर्नु पर्दछ ।

यो महामारी सुरु हुनु भन्दा पहिलेको व्यस्त जीवनशैलीको कारणले चाहेर पनि गर्न नपाएका कुनै कामहरु छन् भने पुरा गर्ने मौकाको रुपमा यो समयको प्रयोग गर्नु पर्दछ । जस्तै कुनै प्रसिद्ध पुस्तक पढ्ने, कुनै सिनेमा हेर्ने, कुनै आर्ट वा पेन्टिङ गर्ने, कुनै रचना गर्ने, गीत गाउने, कथा कविता निबन्ध, नाटक आदि लेख्ने, नृत्य गर्ने, व्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, विभिन्न मेमोरी व्यायाम गर्ने, सन्तुलित आहार सम्बन्धि ज्ञान लिने, कुनै नयाँ परिकारको बारेमा जान्ने बुझ्ने र बनाउन सिक्ने सिकाउने, गमलामा र करेसाबारीमा फूल र सागसब्जीको गोडमेल गर्दै प्रकृतिसंग रमाउने, घरपालुवा जनावरसंग रमाउने, बिध्यार्थीहरुले परिक्षा तयारी गर्ने, सरकारी जागिरमा मन हुनेले लोकसेवा तयारी गर्ने, बध्यबादनमा इच्छा हुनेले बजाउने अभ्यास गर्ने, संगीतका पारखीहरुले गीत सुन्ने वा आफै गाउने अभ्यास गर्ने, आफन्तहरुबाट केहि गुण सिक्ने र सिकाउने आदि हुन् ।

भरपर्दा र आधिकारिक संचारमाध्यमबाट सम्प्रेषित समाचारबाट परिस्थितिगत जानकारी प्राप्त गरि सुसुचित हुनु पर्दछ । गैर जिम्मेवार, गैर आधिकारिक र भ्रमात्मक समाचारहरुको पछि नलागिकन आफुलाई भ्रमबाट टाढा राख्नु पर्दछ ।

यो महामारीको कारक म होइन र यो महामारी मेरो बसमा छैन भन्ने भावको बिकास गरेर आफुमा परिस्थितिगत रुपमा आत्मासुरक्षा सहितको आत्माबल बिकास र मनन गर्नु पर्दछ । यसरी परिस्थिगत हुनु नै मानसिकरुपमा पुर्ण स्वस्थ हुनु हो भन्ने बुझ्नु पर्दछ ।

प्रत्येक व्यक्तिको स्थायी सम्पत्ती भनेको स्वस्थ व्यक्तित्व हो । जसमा स्वास्थ्य शरिर, स्वास्थ्य मन र स्वास्थ्य भावनाको उपयुक्त संयोजन र सन्तुलन हुन्छ । महामारीको समयमा यसलाई बचाएर राख्न सकियो भने अन्य अस्थायी र सहायक सम्पत्ती, चिज बस्तुहरु कुनैपनि बेला प्राप्त गर्न सकिन्छ भन्ने धारणालाई सिरोपर गरि सोहि अनुसार व्यवहार र गतिविधि गर्नु पर्दछ ।

हामीहरु वा हाम्रा आफन्तहरुमा मानसिक विचलनका कुनै लक्ष्यण देखिएमा माथि उल्लेखित उपायहरु प्रयोग गरि आफै व्यवस्थापन गर्ने प्रयास गर्नु पर्दछ । यदि यस्ता बिचलनहरू पहिलेदेखि नै थिए र यो महामारीको समयमा झन् बढेर गएका छन् भने यस्तो अवस्थामा रोग गहिराइसम्म पुगी अब चेतन मन मनमा छापको रुपमा रहेको भए अनुभवी परामर्शदाताको सल्लाह र सुझाव बमोजिम ‘माइन्ड’ व्यवस्थापन र उपचार गर्नु पर्दछ ।

लेखक बिगत १२ वर्षदेखि बौद्धिक व्रयवस्थापन परामर्शको क्षेत्र क्रियाशील छन् ।

Skip This
Skip This
Logo