काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिन सरकारलाई सुझाव दिएका छन् ।
संघीय संसद राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टराईले स्थानीय तहबाट व्यवस्थित क्वारेन्टाइन बनाउन नसकेको भन्दै सुरक्षा अंंगहरुलाई परिचालन गरेर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले अहिलेका क्वारेन्टाइनको अवस्था पुलिसका हिरासत र जेल जस्तै भएकाले सेनालाई जिम्मा दिएर भएपनि समाधान गर्नुपर्ने बताए ।
उनले क्वारेनटाइनमा खाने, बस्ने लगायत मास्क, स्यानिटाइजरको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराए । उनले कोभिड १९ रोकथामका लागि सरकारले लिएका पहलकदमीहरु तथा निर्णयहरु र नीतिहरु सान्दर्भिक भएको तर प्रभावकारी नभएको बताए । यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गरी ल्याउने सरकारको कदम प्रशंसनीय भएको उनले बताए ।
उनले परीक्षणका लागि पीसीआर किटको समस्या अहिले नै देखाउन नहुने समेत बताए । उनले ४ हजार संक्रमित नपुग्दै समस्या देखाउने हो भने भयाभह स्थिति बन्न सक्ने बताए । संक्रमित विरामीको उपचारको लागि आइसोलेसन वार्डको संख्या बढाउन र भेन्टिलेटरको संख्या बढाउन समेत उनले माग गरे । यस्तै समस्यामा परेका व्यक्तिलाई राहतको व्यवस्था उचित तरिकाले गर्न आग्रह गरे ।
उनले किसानहरुलाई मल र बिउको सुनिश्चितता गर्न र उत्पादित दुध तथा तरकारीको बजारीकरणमा सहयोग गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।
उनले पछिल्लो समय सामाजिक सञ्जालबाट राष्ट्रपतिमाथि निरन्तर आक्रमण भइराखेको बताए । यसबाट राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामाथि सरकारले गरेको कामलाई कमजोर बनाउने गरी गतिविधि भइराखेको स्पस्ट हुने बताए । उनले भने, ‘राष्ट्रपति माथिको आक्रमण यो कुनै एउटा व्यक्तिमाथिको रुपमा मात्रै भएको भए कमि छ भने सच्याउँ भन्न पनि सकिन्थ्यो होला । तर अहिले हेर्दा कस्तो देखिन्छ भने सामाजिक सञ्जालहरु हेर्छु मैले सडकमा पनि अलिकति गतिविधिहरु हामी सबैले हेरीनै राखेका छौं । यो सब हेर्दा कस्तो देखिदै छ भने यो गणतन्त्र माथिको प्रहारको रुपमा र यतिवेला राष्ट्रिय स्वाधिनताको प्रश्नमा राष्ट्रिय सार्वभौंमिकताको प्रश्नमा हामी जसरी अगाडी बढ्दैछौं, देश जसरी अगाडि बढ्दै छ यसलाई अलमल पार्ने हिसाबले यसलाई कमजोर बनाउने हिसाबले दाउपेच पो हुन थालेको हो कि भन्ने आशंका मैले देखेको छु । ’





























प्रतिक्रिया