सुनको मूल्य प्रतितोला १० हजार ४०० ले बढ्यो, आज ८७ हजार ४०० कायम

सुनको मूल्य प्रतितोला १० हजार ४०० ले बढ्यो, आज ८७ हजार ४०० कायम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आजदेखि सुन पसलहरु समेत खुलेका छन् । सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै सुन बजार पनि खुल्न थालेका हुन् ।

सरकारले विभिन्न जिल्ला प्रशासन, सम्वन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र सम्वन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा सुन व्यवसाय संचालन गर्न पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार आजदेखि सुन व्यवसाय संचालन भएका हुन् । सुन चाँदी व्यवसायी महासंघले आइतबारबाट सुन तथा चाँदीको भाउ समेत तोकेको छ ।

सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै मुलुकभरी लकडाउन गरेपछि चैतमा तोकेको सुनको मूल्यमा साढे दुई महिनापछि नयाँ भाउ तोकेको हो । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले भने सूचनाको लागि भन्दै जेठ १४ मा नै सुनको नयाँ भाउ तोकेको थियो । महासंघले प्रतितोला ८८ हजार ४०० रुपैयाँ तोकेको थियो । तर सुनचाँदी व्यवसायी महासंघले सो मूल्य मान्य नहुने बताएको थियो ।

सुनचाँदी व्यवसायी महासंघले यस अघि चैत १० गते अन्तिम पटक छापावाला सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ र चाँदीको भाउ ७२० रुपैयाँ तोकेको थियो । महासंघले सार्वजनिक गरेको नयाँ मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तोकिएको छ । त्यसैगरी चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँले बढेर ९२५ रुपैयाँ पुगेको छ ।

महासंघले आजबाट नियमित रुपमा बजार सुचारु गर्ने र सुनको मूल्य पनि लकडाउन भन्दा पहिले जसरी नै दैनिकरुपमा निर्धारण गरिने जनाएको छ ।

Logo