प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा देशका सबै स्थानिय तहमा विरोध प्रदर्शन शुरु

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा देशका सबै स्थानिय तहमा विरोध प्रदर्शन शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशका ७५३ वटै स्थानिय तहमा विरोध प्रदर्शन शुरु गरेको छ ।

यस अघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध सभा गरिसकेको छ । यस्तै पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले आज ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने तयारी गरेको हो । यस्तै माघ ८ गते सबै वडाहरुमा विरोध गर्ने कांग्रेसले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज हुने विरोध सभामा सहभागी हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् । ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु’ देउवाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

आजको विरोध प्रदर्शनमा पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौंको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको शारदानगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दैछन् । महामन्त्री डा शशांक कोइरालाले नवलपुरको देवचुली नगरपालिकामा सम्बोधन गर्दैछन् । यस्तै प्रकाशमान सिंह काठमाडौं र नेता गगन थापाले बूढानीलकण्ठ र ललितपुरको महांकाल गाउँपालिकामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेता डा मिनेन्द्र रिजाललाई नेपालगञ्ज र डा. शेखर कोइराला मोरङका दुई वटा विरोधसभामा सम्बोधन गर्दैछन्। अर्का नेता प्रदीप पौडेल विराटनगर र प्रवक्ता विश्वप्रकाश शर्माले भक्तपुरको विरोधसभालाई सम्बोधन गर्नेछन् । नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतले नुवाकोट तथा सहमहामन्त्री प्रकाशशरण महतले कागेश्वरी मनोहरा नगरपालिकाको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । धनराज गुरुङ्ग चितवनको खैरेहनीमा र प्रकाश रसाइली स्नेही हेटौंडाको विरोसभालाई सम्बोधन गर्न पुगेका छन् ।

गुरुराज घिमिरे र नैनसिह महर काभ्रे पुगेका छन् । नेता वीरबहादुर बलायरले डोटी र जीवनबहादुर शाहीले मुगुको विरोधसभालाई सम्बोधन गर्नेछन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएपछि काँग्रेसले यस विरुद्ध देशव्यापी प्रदर्शन गरिरहेको छ । यसका विरुद्धमा नेकपाको ओली समूहबाहेक अन्य साना ठूला सबै दलहरु सडक संघर्षमा छन् । यद्यपी प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई भने सर्वोच्चमा विचाराधिन अवस्थामै छ ।

Logo