तारे होटलहरुले क्वारेन्टाइनका लागि तोकिएको शुल्क घटाए

तारे होटलहरुले क्वारेन्टाइनका लागि तोकिएको शुल्क घटाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले विदेशबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनका लागि होटलहरु प्रयोग गर्ने निर्णय गरेपछि तारे होटलहरुले ३ हजार देखि १६ हजारसम्ममा शुल्क निर्धारण गरेर सरकारलाई सिफारिस गरेका थिए । तर, होटलहरुले सिफारिस गरेको शुल्क परिमार्जन गर्न सरकारले आग्रह गरी होटललाई क्वारेन्टाइनको लागि सर्वसुलभ शुल्कमा राख्ने निर्णय गरेसँगै तारे होटलहरुले कोठाको मूल्य घटाएका छन् ।

उच्चस्तरीय समितिका क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सस्तो बनाउन आग्रह गरेपछि छुट दिएर तारे होटलहरुले मूल्य घटाएको होटल एसोसिएन अफ नेपाल (हान) का महासचिव साजन शाक्यले बताए ।

हानका प्रतिनिधि र मन्त्री भट्टराईबीचको छलफलमा होटलहरुले सिफारिस गरेको शुल्क घटाउन आग्रह गरिए बमोजिम व्यवसायीहरुसँगको छलफलमा नयाँ मूल्य सार्वजनिक गरिएको शाक्यले जानकारी दिएका छन् । त्यस्तै, हानकी अध्यक्ष सिर्जना राणाले पनि अहिलेको परिस्थितीलाई हेरर होटलहरुले शुल्क घटाएको बताइन् ।

उनका अनुसार होटलहरुको तह अनुसार शुल्क निर्धारण गरिएको छ । जस अनुसार अहिले तय गरिएको नयाँ मूल्य अनुसार चार तारे होटलको प्रति कोठा एक जनाको लागि ८ हजार र दुई जनाको लागि प्रतिव्यक्ति ५ हजार ५०० रुपैयाँ छ । यसअघि एक्लै बस्न चाहनेका लागि १४ हजार र दुई जनाको लागि ८ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको थियो ।

त्यस्तै तीन तारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र २ जना बस्न चाहेनका लागि प्रतिव्यक्ति ३ हजार ५०० निर्धारण गरिएको छ । यसअघि तीन र दुई तारे होटलमा एक्लै बस्नेको लागि १० हजार र दुई जनाको लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ तोकेको थियो । त्यस्तै, दुई तारेका लागि पनि नयाँ मूल्य तोकिएको छ । जहाँ एक्लै बस्न चाहनेका लागि ५ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ तोकिएको छ ।

एक तारेमा एक्लै बस्न चाहनेको लागि ४ हजार र दुई जना बस्दा प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ तोकिएको छ । यसअघि एक्लैको लागि ५ हजार र दुई जना बस्नेलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ तोकिएको थियो । यसरी सरकारले होटलमा बस्नेको लागि दिनको ४ पटक पौष्टिकयुक्त खाना र खाजा पाउने व्यवस्था गरेको छ ।

Logo