पश्चिम रुकुमको नरसंहार र त्यसले ल्याएको तरङ्गले संसार भर रहेका नेपालीहरू प्रभावित भएका छन् । अहिले आफ्ना मनमा लागेका बिचारहरू लेख्ने र व्यक्त गर्ने प्लेटफर्महरू उपलब्ध छन् त्यसैले हरेक नेपालीले सामाजिक सञ्जालमा आफ्नो बिचार व्यक्त गर्न पाएका छन् । सामाजिक सञ्जाल नहुँदो हो भने बिचार व्यक्त गर्न र आफ्नो कुरा माथि पार्नको लागि मान्छेहरू पिटापिट समेत गर्थे होलान् । सामाजिक सञ्जालमा देखिएको आक्रोश हेर्दा लाग्छ यिनीहरू नजिक नभएर मात्र हो नत्र आपसमा लडेर आफैं सिद्धिने थिए ।
जनआन्दोलन बाहेक जनतामा यति ठूलो आक्रोश पलाएको निर्मला हत्याकाण्ड र अहिलेको रुकुम काण्ड नै हो । यौटै मुद्दामा यति ठूलो बहस अन्य बेला सायदै भएको थियो होला । निर्मला हत्यामा समाज यति नराम्रोसँग विभक्त भएको थिएन । सबै निर्मलाको न्यायको पक्षमा उभिएका थिए । हत्यारा को हो, प्रहरीले हत्यारा लुकाएको हो या होइन भन्ने कुरा मात्र विवादका विषय थिए तर रुकुम काण्डमा भने जनता पक्ष र विपक्षमा विभाजित भएका छन् र त्यो विभाजनको आगोमा घ्यु थप्ने काम युट्युबरहरूले गरेका छन् ।
युट्युबरहरुले के गरे, कस्ता भिडियो बनाए र कसरी प्रस्तुत गरे भन्ने विषयमा धेरै आलेखहरू आइसके । अब युट्युबले दिएको कन्टेन्टले समाजमा कस्तो असर पारिरहेछ र कसरी मान्छेमा कुण्ठा जन्माइरहेको छ त्यो बुझ्नुपर्ने समय भएको छ । खासमा रुकुममा मारिएका दलित युवा नवराज बिकलाई लिएर सिङ्गो समाज दलित र गैह्रदलितमा विभाजन हुन पुगेको देख्दा भने अब हाम्रो समाजको चेतनास्तर कुन स्थानमा छ भनेर बिचार गर्नुपर्ने समय भएको हो जस्तो लाग्न थालेको छ ।
के बेचिरहेछन् युट्युबर हरू ? जे समाजको माग छ त्यही बेचिरहेछन् । युट्युब भिडियो बेच्ने डिजिटल दोकान हो । त्यहाँ ग्राहकको माग अनुसारको सामान आउनु स्वाभाविक हो । अधिकांश युट्युबका दर्शकहरू विदेशमा रहेका नेपालीहरू हुन् । उनीहरूको चेतनास्तर माथि शङ्का त नगरौँ तर कुनै पनि मुद्दामा ‘डिटेल बुझ्ने चाहना’ उनीहरूमा अत्यधिक छ । सकेसम्म घटनास्थलमै पुग्न पाए हुँदो हो भनेर सोच्ने नेपालीहरू हरेक घटनाको एक एक कुरा सुन्न चाहन्छन् उनीहरू त्यसैले भिडियो बनाउनेहरू पनि साना भन्दा साना कुरालाई पनि खोतलेर निकाल्न लागिपरेका हुन्छन् ।
त्यसको असर के परिरहेको छ त समाजमा ? यौटै कोठामा बस्ने साथीहरू बीच विवाद बढेर बोलचाल बन्द भएको छ । सजायको डरले मात्र झगडाले उग्ररूप लिएको छैन नत्र युट्युब हेरेर घटना बुझ्नेहरूले एक अर्कालाई चोट पुर्याउने सम्भावना बढ्दै गइरहेको देख्न सकिन्छ । त्यही कोठामा रहेको दलितले गैह्र दलितलाई र गैह्र दलितले दलितलाई दोष लगाउँदै पक्ष विपक्षमा बहस गरिरहेको देख्न सकिन्छ । समग्रमा समाज हिंश्रक बन्दै गइरहेको देख्न सकिन्छ ।
लकडाउनको समयमा नवराज (कामी) किन गएको अर्काकी छोरी भगाउन त्यति धेरै मान्छे लिएर ? घरबाट निकालेर निर्मलालाई जस्तै बलात्कार गरेको र मारेर फालिदिएको भए के हुन्थ्यो ? यस्ता तर्कहरू दिएर हत्या जस्तो जघन्य अपराधको प्रतिरक्षा गर्न सिकाएको पनि युट्युबमा आएका भिडियो ले नै हो । युट्युबले यो अपराधलाई केवल अपराध मात्र रहन दिएन किनभने अब जति धेरै समाज भड्किन्छ र जति वादविवाद बढ्छ युट्युबरलाई त्यति धेरै फाइदा हुन्छ र फाइदा आउने बेला सम्म घटना अतिरञ्जित भइरहन्छ ।
‘काउन्टर भिडियो’ यस्ता युट्युबरको मुख्य आय श्रोत हो । एक जनाले भनेको कुरा यौटा भिडियोमा राखिसकेपछि त्यसको काउन्टरमा अर्को विपक्षीको भिडियो ल्याउने र अतिरञ्जित शीर्षकसहित अपलोड गर्ने, त्यस्तोमा दर्शकहरू पनि उनै हुन्छन् र प्रतिक्रियाहरू पनि प्राय उस्तै हुन्छन् तर भ्यु उकालो लागेको हुन्छ । त्यस्ता काउन्टर भिडियोलाई अचेल उनीहरू ‘फलो अप’ भिडियो भन्न थालेका छन् ।
युट्युबको नियम अनुसार नाबालकलाई प्रयोग गरिएको भिडियो त्यही समूहमा अपलोड गर्नु पर्ने हुन्छ । नाबालक प्रयोग भएका भिडियोहरु विज्ञापनको लागि योग्य हुँदैनन् । यदि त्यसरी भिडियो बनाएर अपलोड गरिएको छ भने त्यो युट्युबको ट्रम्स एन्ड कन्डिसनको विपरीत हुन्छ । नाबालकको प्रयोग भई ‘मेड फर चिल्ड्रेन’ अन्तर्गत प्रकाशित गरिएको छैन भने त्यस्ता भिडियो सम्बन्धित निकायले उजुरी गरेमा गुगलले हटाइदिन्छ तर हाम्रोमा मिडिया नियमन गर्ने संस्थाहरूले त्यो कुरा बुझेर पनि नबुझे जस्तो गरिरहेका छन् ।
हत्या, सामूहिक हत्या, ड्रग सप्लाई, दुर्घटनामा भएको भयावह दृश्य लगायतका भिडियो सोझै सम्पादन नगरी या ब्लर नगरी अपलोड गर्न पाइँदैन । अझ त्यस्ता घटनालाई चर्काउन र झैझगडा बढाउने तरिकाले तथ्यलाई बङ्ग्याउने प्रयास स्वरूप गलत शीर्षक र भिडियोसँग असम्बन्धित थम्ब्नेल राखेर दर्शकमा गलत सूचना जाने गरी या दर्शकले शीर्षक हेरेर गलत बुझ्ने गरी भिडियो अपलोड गर्न पाइँदैन । भिडियोको सार शीर्षकमा दर्शिनु पर्दछ ।
कसैको पनि चरित्रमाथि गलत आरोप पुष्टि गर्ने प्रयास गर्न पाइँदैन त्यस किसिमको वार्तालाप ‘हेट स्पीच’ अन्तर्गत पर्दछ । जातीय हिंसा या सामाजिक सद्भाव बिथोलिने किसिमका कुराहरू अपलोड गर्न पाइँदैन । राजनैतिक भाषण, मनोरञ्जन, जनताका सार्वजानिक चासोका कुरा र व्यक्तिगत कुरा लगायत अन्य धेरै कुराहरूलाई अपलोड गर्न बेग्लाबेग्लै स्थान निर्धारण गरिएको छ ।
अहिले नेपाली युट्युबरहरूले निर्माण गरेर प्रसारण गरिरहेको कुनै पनि भिडियो युट्युबको कुन समूह अन्तर्गत अपलोड हुनु पर्ने हो क्लियर छैन । जुनसुकै भिडियो जता सुकै अपलोड हुँदै आइरहेको छ । यो अवस्थामा सरकारको जिम्मेवार निकायले ती भिडियोहरुलाई कारबाहीको दायरामा ल्याउन सक्छ तर नेपालमा डिजिटल प्लेटफर्म नियमन गर्ने निकाय कुन हो त्यो कुरा नै क्लियर हुन सकेको छैन ।
अधिकांश युट्युबरहरु आफैं अशिक्षित छन् । उनीहरूको पत्रकारिता र इथिक्ससँग टाढा टाढासम्म कुनै साइनो छैन । त्यति मात्र होइन भिडियो मेकिंगको न्यूनतम सिद्धान्तसमेत बुझेका छैनन् । अधिकांशले युट्युब सञ्चालन गर्न जानेकै छैनन्, युट्युब सञ्चालनका नियमहरू पढेकै छैनन्, केवल भिडियो अपलोड गर्न मात्र जानेका छन् ।
हत्या सही थियो या गलत भनेर नाबालकलाई प्रश्न गरेर सत्य बङ्ग्याएर प्रस्तुत गर्नु आफैंमा अपराध हो तर नेपाली युट्युबरहरु निर्बाध त्यो अपराध गरिरहेछन् । त्यस किसिमका भिडियोहरु सरकारले हटाउनु पर्ने हो । त्यो सम्भव पनि छ । सरकारले नियन्त्रण गर्न सक्छ तर संविधानले सरकारको हात बाँधिदिएको छ अभिव्यक्ति स्वतन्त्रताको नाममा । अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा जसरी पनि बोल्न पाउनु पर्ने र जे सुकै खिचेर देखाउन पाइने पक्कै होइन ।
केही राम्रा युट्युबरहरू पनि छन् जस्तै रवि लामिछाने राम्रा युट्युबर हुन् । उनी जनताको मन छुन सक्ने कन्टेन्ट लिएर आउँछन् र सम्भवतः सबैभन्दा धेरै भ्यु पनि उनैका भिडियोले पाइरहेका छन् त्यो राम्रो हो । कतिपय दोहोरी कार्यक्रम सञ्चालकका गीतहरू राम्रा थिए तर उनीहरू पनि मौकाको फाइदा उठाउँदै चन्दा सङ्कलन राहत र उद्दारमा खटेका सस्ता भिडियो अपलोड गर्न थालेका छन् । केही भ्लगरहरुका भिडियो पनि राम्रा थिए उनीहरू समेत विदेशमा मृत्युदण्ड पाएका नेपालीको नाममा चन्दा उठाउन सक्रिय हुन थालेपछि त्यसले विवाद नै निम्त्यायो । झुटो हल्ला फैल्याएर केही युट्युबरले करोडौँ चन्दा समेत उठाए । मनोरञ्जनका क्षेत्रमा काम गरेका केही युट्युबरहरूले ‘सिने पत्रकारको’ ट्याग समेत पाएका छन् ।
गुगलले भिडियो मा बजेको विज्ञापन बापत दिने भुक्तानीको लोभले मात्र यति धेरै भिडियोहरु बनेका हुन् । यदि डलर भुक्तानी आउँदैन भने नेपालबाट ठूला मिडिया हाउस छोडेर अन्य कसैले पनि भिडियो व्यापार गर्ने थिएनन् । डलरको लागि न्यूनतम मानवीय समवेदना समेत ख्याल नगर्नु भनेको अशिक्षा कै कारणले हो, अब यसरी भिडियो बनाउनेहरूलाई तालिमको व्यवस्था गरिनु पर्दछ र पत्रकारिताको न्यूनतम लक्ष्मण रेखाभित्र रहन सक्ने गरी उनीहरूलाई शिक्षित बनाइनु पर्दछ ।





























प्रतिक्रिया