- तिलु शर्मा पौडेल
दोहा कतार ।
नेपाल सरकारले कोभिड-१९ का कारण विश्वमा परेको असर र उत्पन्न असहज परिस्थितिबाट प्रवासमा अप्ठ्यारो अबस्थामा रहेका आफ्ना नागरीकहरुलाई स्वदेश फिर्ता ल्याउने निर्णय अनुसार “जटिल अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७” जारी गरी सकेको छ । सरकारको निर्णय अनुसार तेश्रो मुलुक (बिदेश) बाट स्वदेश फर्कनै पर्ने नेपालीको सम्बन्धमा निर्णयमा उल्लेख भएका प्रावधानहरुका आधारमा नेपाली नियोग दोहा कतारले एक सूचना जारी गर्दै अविलम्ब फाराम भर्न अनुरोध गरेको छ ।
राजदूतावासले जारी गरेको सूचना अनुसार तेश्रो मुलुक अर्थात कतारबाट फर्कने स्वयंले उडान देखी क्वारेन्टाइन सम्मका सबै खर्च बेहोर्नु पर्ने, नेपाल सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य नियामावलीहरुको पालना गर्नु पर्ने जनाएको छ । नियोगले सुत्केरी या गर्भवति महिला, कोरोना बाहेक अन्य कारणले गम्भिर बिरामी, अध्ययन सकिएका (ईन्टर्नशीपमा रेहका), परिवारका सदस्य गुमाई काजक्रियाका लागि जानै पर्ने, भिजिट तथा बिजिनेश भिषामा रहेका, श्रम करार सम्झौता अबधी (कन्ट्याक) सकिएका ( १३ मार्च २०२० वा सो भन्दा पहिला), कतारी आईडी नलागेका वा भिषा सकिएका ( १३ मार्च २०२० वा सो भन्दा पहिला) लाई पहिलो प्राथमिकतामा राख्दै सूचना मार्फत सो सँग सम्बन्धित कागजात लिकं ( https://qa.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-state-of-qatar/ ) मार्फत र ईमेलमा [email protected] , Whatsapp 33560117 (फोन कल बाहेक) पठाउन सकिने र अति आवश्यक परेमा 44675681/ 44171962 मा कल गर्न सकिने ब्यवस्था गरेको छ ।
तर नेपाली नियोगले यस अघि नै तथ्यांक संकलन तथा स्वदेश फिर्ता जान चाहने आफ्ना नागरीकका लागि एक फाराम जारी गर्दै तथ्यांक संकलन गरीरहेको छ । उक्त फाराम मार्फत जेठ १८ गते सम्म ८ हजार ३०० जनाले फाराम भरीसकेको जानकारी नियोगका द्वितिय सचिव प्रविन भट्टराईले गराएका छन् । फाराम भरीसकेका नागरीकले पुन फाराम भर्नु पर्ने छैन । नियोगले जारी गरेको मापदन्ड अनुसार यस अघि नै हवाई टिकट लिई सकेकाहरुले हवाईटिकटको कपि पनि नियोगमा ईमेल गर्न अनुरोध गरेको छ । हवाई उडान तथा यसका लागि लाग्ने खर्च सहितका सम्पूर्ण प्रक्रियाका बारेमा दूतावासले आफ्नो वेभसाईड तथा फेसबुकमार्फत जानकारी उपलव्ध गराउने हुँदा सोधपुछका लागि नियोगसम्म पुग्नु नपर्ने उल्लेख छ ।
नेपाल सरकारले तोकेको मापदन्ड “कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पिसीआर, आरडिटी अन्य परीक्षण) को प्रमाण साथमा राख्नु पर्ने” भन्ने निर्णय कतारमा केही जटिल देखिएको हुँदा कहाँ, कहिले र कसरी गर्ने सम्बन्धमा प्राप्त राय अनुसार कतार सरकारले जारी गरेको EHTERAJ App लाई आधार मान्न सकिने भए पनि सबै नेपालीसँग स्मार्ट फोन, आफ्नै नामको मोबाईल नम्बर नभएको, आईडीको म्याद सकिएको हुन सक्ने कारणले अर्को समस्या देखिन्छ । यद्दपी उल्लेखित प्रावधानका बारेमा नेपाल सरकार तथा कतार सरकारका उच्च निकायहरूमा महामहिम राजदूतकै स्तरबाट बिभिन्न बिकल्पहरुको बारेमा कुराकानी भैरहेको जानकारी प्राप्त भएको छ । कतार नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य हो । यहाँ ४ लाख भन्दा बढी नेपाली कार्यरत रहेका छन् ।






























प्रतिक्रिया