काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ । पछिल्लो पटक २२६ जना नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । आइतबार १७१ जना थपिएका जानकारी दिइएको थियो । शनिबार पनि १८९ जना थपिएका थिए ।
कूल संक्रमित मध्ये २२१ जना निको भएका छन् । आइतबार १ जना निको भएका थिए भने आज पनि १ जना निको भएका छन् । शुक्रबार १९ जना र शनिबार १३ जना निको भएका थिए । मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार २ जनाको मृत्यु भएको जानकारी दिइएको थियो ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । गत बुधबार एकै दिन ११४ जना, विहिबार १५६, शुक्रबार १७० र शनिबार १८९ जना नयाँ संक्रमित थपिएका थिए । आइतबार १७१ जना संक्रमित थपिएसँगै कूल संख्या १ हजार ७९८ पुगेको हो ।
पछिल्ला दिनहरुमा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ । हालसम्म ५९ जिल्लामा कोरोना संक्रमित देखिएका पनि मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कञ्चनपुरमा ११ महिने बालिकासहित २ सय २६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । विराटनगरमा भएको परीक्षणमा झापाका २ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ । जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् । सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ । यस्तै धुलिखेलमा परीक्षणमा कपिलवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ । धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ । कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १—१ जनामो पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ । अहिले प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ५ सय ६९जना संक्रमित उपचाररत रहेको उनले बताए । देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म पीसीआर विधिबाट ७१ हजार ९ सय ३ र आरडिटी विधिबाट १ लाख १३ हजार ७ सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडिटी २ हजार ६ सय ४८ जनाको नमुना परीक्षण भएको छ । देशभरी क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् ।





























प्रतिक्रिया