काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।
रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेसले संसदीय समितिबाट छानबिन गर्न माग गरेको हो । प्रतिनिधिसभामा सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न माग गरे । उनले भने, ‘‘घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन होस् । यहि माग हामी राख्छौं । यदि तत्काल गठन भएन भने यो भन्दा कडा कदम हामीलाई चाल्न बाध्य नपारियोस ।’’
प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यस लगत्तै सांसद विश्वकर्माले आफ्नो धारणा राखेका थिए । गम्भिर घटना भएपनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानबिन समितिले न्याय दिन नसक्ने उनले बताए । ‘‘यति ठूलो घटना घटिसकेपछि अहिले गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा छानविन समिति गठन गर्नुभएको छ । त्यो छानबिन समितिले न्याय दिन सक्दैन । र हामीलाई समितिको मान्यता पनि छैन । यस हत्याकाण्डलाई फितलो बनाउनका लागि जाजरकोटमा आर्थिक चलखेल भइराखेको रिपोर्ट पनि पाएका छौं सत्तापक्षबाट’’, उनले भने ।
‘‘गृहमन्त्रीले तिनीहरु हामफाले भन्नु भएको छ । पोस्टमार्टम गर्दा ति मृतकका पेटबाट पानी आएको छैन । मान्छे हामफालेपछि सबैभन्दा पहिले पानी पिउँछ तर तिनको पोस्टमार्टम गर्दा पानी नआउनुको कारण तिनिहरुलाई मारेर फालिएको थियो । त्यस्तै कसैलाई डोरी बाधेर खोलामा फालिएको थियो ।’’
पश्चिम रुकुमको चौरजहारीमा रहेको आफ्नी प्रेमिकाको घर पुगेका जाजरकोटका नवराव विकको मृत्यु भएको थियो । उनीसँगै अन्य ५ जना साथीको पनि मृत्यु भएको थियो । गाउँलेहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएको र अझै पनि एकजना बेपत्ता रहेको भन्दै सो घटनाको छानबिन गर्न कांग्रेसले माग गरेको हो ।































प्रतिक्रिया