काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रतिनिधि सभाको बैठकमा संविधान संशोधन विधेयक पेस गरिएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकको कार्यसूचीको पहिलो नम्बरमा रहेको संविधान संशोधन विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेस गरेकी हुन् । बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएको थियो ।
त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा रहेको जातीय छुवाछुतको अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभामा भएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै डा. भट्टराईले सो कुरा बताएका हुन् । सबैले एकै थर कामी लेख्नुपर्ने उनको भनाइ छ ।
नाडा अटोमोवाइल्स डिलर्स एसोशिएसनले आगामी वर्षको बजेटले आम सर्वसाधारणमा विद्युतीय सवारी किन्नै नसक्ने अवस्था सृजना गरेको बताएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले पहिलेदेखि नै महँगा रहेका विद्युतीय सवारी साधनमा आर्थिक वर्ष ०७७/७८ को बजेटमा झन् महँगो बनाइएकाले उपभोग गर्न कठिन हुने बताएका हुन् ।
त्यस्तैगरी कोरोना संक्रमणबाट विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले ज्यान गुमाएसँगै विदेशी भूमिमा ज्यान गुमाउनेको संख्या १ सय २१ पुगेको हो ।
नेपालमा कोरोना भाइरस विरुद्धको खोप तयार भएको दाबी गरिएको छ । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरस विरुद्धको खोप तयार पारिएको दाबी गरिएको हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत उक्त अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले ६४ दिनको मेहनतपछि कोरोना विरुद्धको खोप तयार पारेको बताएका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया