काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा रहेको कथित जातिय छुवाछुतको अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आज प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले सबैजनाले एकै थर कामी लेख्नुपर्ने प्रस्ताव गरेका हुन् ।
रुकुम घटनाको विरोध गर्दै उनले श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित गरेर देश अघि नबढ्ने बताएका हुन् । उनले आफू बाबुराम भट्टराई ’कामी’ भनेर लेख्न तयार रहेको बताउँदै सबैलाई छुवाछुतविरुद्ध एकजुट हुन आग्रह गरे ।
नेता भट्टराईको यो प्रस्तावसँगै उनको आलोचना शुरु भएको छ । सामाजिक सञ्जालमा उनको प्रस्तावको विरोध गर्नेहरुले नाम र थरले भन्दा पनि सोचले समाज परिवर्तन हुने बताएका छन् ।
यसैबीच रुकुम पश्चिममा दलितमाथि भएको हिंसाको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिको संयोजनमा चौरजहारीमा नवराज विकसहित ६ जनाको हत्या भएको घटनाको विरोधमा प्रदर्शन भएको हो । प्रदर्शनमा पूर्वप्रधानमन्त्री भटट्राई पनि सहभागि भएका थिए । प्रदर्शनमा सहभागी भएकाहरुले नरसंहारका दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
गत जेठ १० गते आफ्नी प्रेमिका लिन गएका नवराज बिक र उनका साथीहरुमाथि गाउँलेहरुले आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो ।





























प्रतिक्रिया