प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मीको विजयी शुरुआत

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मीको विजयी शुरुआत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राजेश पुलामीको अलराउन्ड प्रदर्शन र कप्तान विनोद भण्डारीको शतकीय इनिङ्सको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शुक्रबार भएको खेलमा विभागीय टोली आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराउँदै प्रतियोगितामा विजयी शुरुआत गरेको हो । आर्मीका कप्तान विनोद भण्डारीले घरेलु प्रतियोगितामा पहिलो शतकीय इनिङ्स खेल्दा आर्मीले गण्डकी प्रदेशसामु २ सय ८८ रनको मध्यम लक्ष्य दिएको थियो । विनोदको घरेलु क्रिकेटको जुनसुकै संरचनामा यो पहिलो शतक हो ।

जवाफी ब्याटिङ गरेको गण्डकीले १ सय ८९ रन जोड्दै गर्दा सबै विकेट गुमाउन पुग्यो । खेलमा गण्डकीका समिर कँडेलले अर्थशतकीय पारी खेल्दा ओपनर अर्जुन कुमाल ३६ तथा दीपक डुम्रेले २६ रनको व्यक्तिग स्कोर बनाउँदा अन्य ब्याट्सम्यान आर्मीका बलर सामु खुलेर खेल्न सकेनन् । गण्डकीलाई सस्तैमा समेट्नका लागि आर्मीका राजेश पुलामीले सर्वाधिक ५ विकेट हात पार्दा भीम सार्कीले ३ तथा रोहित पौडेल र आकाश चन्दले समान १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरको समाप्तिमा ६ विकेट गुमाएर २ सय ८७ रन जोडेको थियो । ओपनर राजु रिजाल र हरे कृष्णा झाले पहिलो विकेटका लागि राम्रो साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए । शतकीय पारी खेलेका भण्डारीले छैटौं विकेटका लागि लोकेश बमसँग १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए । भण्डारीले ७६ बलमा ९ चौका र पाँच छक्काको मद्दतमा १ सय ११ रन बनाए ।

निकै आकर्षक ब्याटिङ्ग गरेका लोकेशले पनि आर्मीको लागि आफ्नो पहिलो खेलमा ३० बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४२ रनको पारी खेले । भण्डारीले राजेश पुलामी मगरसँग पाँचौं विकेटका लागि ७३ रन पनि जोडेका थिए । राजेशले ५२ बलमा चार छक्का प्रहार गरे । राजेशले ७१ बलमा चार चौका र एक छक्काको मद्दतमा ४५ रन बनाए । गण्डकीका लागि बिपिन खत्री र विशाल पौडेलले २–२ विकेट लिएका थिए । आर्मीका लागि रोहित कुमार पौडेल १० र भीम सार्कीले १५ रनको योगदान गरेका थिए ।

पहिलो खेल गुमाएको गण्डकीले दोस्रो खेल माघ ५ प्रदेश १ सँग मुलपानीमा खेल्ने छ भने आर्मीले माघ ४ मा कर्णालीसँग मुलपानी नै प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा शनिबार अर्को विभागीय टोली एपिएफ र प्रदेश नं १ बीच प्रतिस्पर्धा हुने तालिका छ ।

Logo