जाजरकोट ।
लकडाउनमा भारतबाट आएका नागरिकलाई राख्न क्वारेन्टाइन बनाइएपछि जाजरकोट भेरी नगरपालिका– ६ का बासिन्दाले शिक्षककै नेतृत्वमा विद्यालय भवन भत्काएका छन् । भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राख्दा कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले विद्यालय भत्काएका हुन् ।
भेरी नगरपालिकाले भारत लगायत विभिन्न मुलुकबाट आएका स्थानीय बासिन्दालाई राख्न स्थानीय कृष्ण प्राथमिक विद्यालयको भवनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार वडा कार्यालयले विद्यालयमा विदेशबाट आएकालाई राख्न खोज्दा शिक्षककै अगुवाइमा विद्यालय नै भत्काइएको वडाध्यक्ष शशि बुढाले बताए । ‘शिक्षक जयबहादुर शाहीको नेतृत्वमा स्थानीय बासिन्दाले विद्यालय भत्काइदिए । क्वारेन्टाइनका लागि गरिएको व्यवस्थापनका सबै सामग्री पनि फालेका छन्,’ उनले भने । शिक्षक शाही छिमेकी गाउँ भेरेस्थित लक्ष्मी माविमा कार्यरत छन् ।
स्थानीय बासिन्दाले विद्यालयको छानो र पर्खाल भत्काएका हुन् । नगरपालिकाले बस्ती भएको स्थानमा क्वारेन्टाइन बनाएर कोरोना सार्न लागेको स्थानीयको आरोप छ । तर, विद्यालयनजिक बस्ती नभएको वडाध्यक्ष बुढाले बताए । ‘नगरपालिकाको निर्देशन, अधिकांश गाउँलेको सहमति र वडास्तरीय कोरोना रोकथाम समितिको निर्णय अनुसार क्वारेन्टाइन बनाएका थियौँ,’ वडाध्यक्ष बुढाले भने, ‘हात हतियारसहित आएका गाउँकै मान्छेले विद्यालय भत्काए ।’ यसमा शिक्षक शाहीसँगै स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र बले घर्ती लगायतको प्रमुख भूमिका रहेको उनले बताए ।
क्वारेन्टाइन बनाउने विद्यालय भत्काएपछि भारतबाट फर्किएका स्थानीयलाई व्यवस्थापन गर्न समस्या भएको छ । विद्यालय भत्काएको विषयमा सोधपुछ गर्दा उल्टै आफूलाई पनि ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष बुढाको गुनासो छ ।नयाँ पत्रिकाबाट





























प्रतिक्रिया