जाजरकोट ।
सोती घटनामा हराएका मध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ ।
योसँगै पाँच जनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । बुधबार मात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो । गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला परिसकेको छ ।
हिउँ पग्लिएर भेरी नदी धमिलो भएकाले पानीभित्र बेपत्ता भएकाको शव खोज्न कठिन भएको गोताखोरले जनाएको छ । अन्तर्जातीय प्रेमका कारण जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो ।
घटना भएको पाँच दिनसम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुबेको आशङ्कामा सशस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको थियो । तर नदी धमिलो भएकाले पानीभित्र हेर्न नसकिएको र शङ्कास्पद स्थानमा छामेर खोज्नु परेको सशस्त्र प्रहरीका प्रमुख बस्नेतले बताए।
पानीमा डुबेर खोज्न मिल्ने अक्सिजनसहितको पाँच जनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरी दर्जनभन्दा बढी सशस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधबार बिहानैदेखि भेरीमा परिचालन गरिएको उनले बताए ।
हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । बेपत्ताहरु नदीमा डुबेको हुन सक्ने आशङ्कामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको उनले बताए ।





























प्रतिक्रिया