‘होटलहरुमा प्रतिव्यक्ति २ हजारमा क्वारेन्टाइन राख्न सकिंदैन’ : होटल एसोसिएसन नेपाल

‘होटलहरुमा प्रतिव्यक्ति २ हजारमा क्वारेन्टाइन राख्न सकिंदैन’ : होटल एसोसिएसन नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्नको लागि प्रतिव्यक्ति, प्रतिदिन २ हजार रुपैंयाँसम्म अस्पताललाई होटलहरु उपलब्ध गराउन भनिएको थियो । तर होटल एसोसिएसन नेपाल (हान) ले क्वारेन्टाइनमा राख्नका लागि ३ हजार रुपैंयाँदेखि १६ हजार रुपैंयाँसम्म खर्च लाग्ने प्रस्ताव पेश गरि उक्त शुल्कमा क्वारेन्टाइन राख्न नसकिने हानले स्पष्ट पारि नेपाल पर्यटन बोर्डमार्फत मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।

हामीले व्यापार गर्ने होइन, संकटको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गन नै सेवा दिने हो, तर २ हजार रुपैंयाँले मात्रै नपुग्ने भएकाले १६ हजार रुपैंयाँसम्मको खर्च राखेर प्रस्ताव गरेको हानका उपाध्यक्ष विनायक शाहले बताए ।

उनका अनुसार होटलको स्तर अनुसार दैनिक ४ छाक खाना खुवाउने, सम्पूर्ण मापदण्ड पालना गरी पौष्टिक तत्वयुक्त खाना खुवाउनु पर्ने भएकाले उक्त खर्च लाग्ने प्रस्ताव गरिएको हो ।उनले भने, यो हाम्रो प्रस्ताव हो, अन्य विषयमा अझै पनि सम्बन्धित सबैसँग छलफल गरेर निर्णय लिन सकिन्छ।

अहिलेसम्म हानको सदस्य रहेका देशभरका ३ हजार ३ सय होटलमा ५० हजार बेड संख्या रहेको छ । सरकारले स्वीकृत गरेको निर्देशिका अनुसार २ हजार रुपैंयाँमा पाँच तारे होटलमा राख्न नसकिने भएकाले मझौला होटलहरुमा अहिले डाक्टरहरुलाई राख्न शुरु गरिएको नेपाल पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले बताए ।

उनका अनुसार यो संकटको समय रहेकाले यो बेलामा नाफा÷घाटा भन्दा पनि सेवाभावले काम गर्नुपर्छ, तर तारे होटलहरुले उक्त शुल्कमा राख्न नसक्ने भनेकाले उपत्यकाका ५० हजार मझौला होटलहरुमा राख्न शुरु गरिएको छ।

अहिले सरकारले विदेशबाट समेत ठूलो संख्यामा नेपाली ल्याउने तयारी गरिरहेको अवस्थामा ती मानिसहरुलाई क्वारेन्टाइनमा राख्नका लागि कोठाहरु आवश्यक पर्छ । त्यसका लागि अहिले देशभर रहेका होटलहरुसँग छलफल गरिरहेको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले गत जेठ २ गते स्वीकृत गरेको निर्देशिकामा प्रत्येक व्यक्तिलाई प्रतिदिन २ हजार रुपैंयाँका दर रकम उपलब्ध गराउनु पर्ने उल्लेख गरेको थियो ।

Logo