अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा हत्या

अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा हत्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अन्तरजातीय प्रेम सम्बन्धपछि विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको कुटपिटपछि हत्या भएको छ । जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विक चौरजहारीकी आफ्नी १७ वर्षीया प्रेमिका सुस्मा मल्ललाई बेहुली बनाउँन गएका बेला हत्या भएको हो ।

नवराजको हत्यामा संलग्न चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्यको पनि खोजी भइरहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

हत्या गरिएका नवराज प्रेमीका सुस्मालाई बेहुलीको रुपमा भित्र्याउन शनिबार १९ जना युवासहित गाउँ चौरजहारी पुगेका थिए । उक्त समय सोही क्षेत्रका वडाध्यक्ष वीरबहादुर मल्लसहित चौरजहारीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको थियो । संलग्न अन्य ६ जना भने भागेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुस्मालाई लिन नवराजसहितको युवाको समुह चौरजहारी पुगेपछि उनका आमा–बुवाले गाउँलेलाई बोलाएर आक्रमण गरी लखेटेको प्रहरीले जनाएको छ । पीडित पक्षले भने हत्या गरेर भेरीमा फालिदिएको बताएका छन् । बेहुली लिन गएका १९ मध्ये अन्य ६ जना पनि वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका ४ का गणेश विक, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका टीकाराम सुनार बेपत्ता भएका छन् । नवराजसहितको युवा समुहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरी लखेटेको स्थानीयको भनाइ छ भने, केटीको उमेर नपुगेको र केटीले विवाहको लागि अस्वीकार गरे पनि जबरजस्ती लान खोज्दा विवाद भएको माइती पक्षले दावी छ ।

मृतक नवराजको लास जाजरकोट र पश्चिम रुकुमको सिमाना रहेको धल्ला स्थित भेरी नदीको किनारामा भेटिएको प्रहरीले जनाएको छ । नवराजसँगै चौरजहारी पुगेका अन्य १२ जना इलाका प्रहरी कार्यालय चौरजहारीमा रहेका र बेपत्ता भएका अन्य ६ जनाको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साझा पार्टीका नेता एवं सञ्चारकर्मी प्रकाशचन्द्र परियारले यस्तो घटनामा वडा अध्यक्ष समेत जोडिनु अति लज्जास्पद भएको टिप्पणी गरेका छन् । उनले घटनाको अनुसन्धान गरी दोषीलाई कडा कार्यवाही गर्न उच्च स्तरीय छानविन समिति गठन गर्न समेत माग गरेका छन् । परियारले छुवाछुत तथा जातिय भेदभाव कसुर तथा सजाय ऐन २०६३ लाई परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गरी जातिय विभेद निर्मुलको दृढ़ अठोट गरेर विशेष कार्यक्रमहरु ल्याउनु पर्ने बताए ।

Skip This
Skip This
Logo