बाँके ।
नेपालगञ्जका मुसलमान धर्मावलम्बीले इद उल फित्र पर्वको विशेष नमाजमा कोरोना भाइरस अन्त्यको प्रार्थना गरेका छन् । नेपालगञ्जस्थित बिवी चोकमा रहेको इदगाह मस्जिदमा आज सामाजिक दूरी कायम गरेर न्यून सङ्ख्यामा नमाज पढिएको थियो ।
सामूहिक नमाज पढ्ने परम्परा रहे पनि यस वर्ष कोरोना महामारीको सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण घरमा नै बसेर कोरोना भाइरस समाप्तिको प्रार्थना गरिएको केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष एवम् धर्मगुरु मौलाना अव्दुल जव्वार मञ्जरीले बताए । ‘कोरोना भाइरस महामारी फैलिएकाले देशमा त्रास छ, नागरिकले आआफ्नो घर बसेर इद उल फित्रको प्रार्थना गरेका छन्’, धर्मगुरु मञ्जरीले भने, ‘कोरोना भाइरसका कारण परम्परागत धार्मिक तरिकाले मनाउन नपाइएकोले यस वर्ष नमाजमा कोरोना भाइरस अन्त्यको कामना गरिएको हो ।’
सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीलाई ख्याल गर्दै मस्जिद जानाको सट्टा आफ्नै घरमा नमाज पढ्नु राम्रो हुने भएकाले मुसलमान समुदायलाई सोही अनुसार पालना गर्न धर्मगुरुबाट आग्रह गरिएको उनको भनाइ छ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानहरुले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नेपालगञ्ज मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले इद उल फित्र पर्वको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा रहेको बताए । यस पर्वमा आफू भन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यस पर्वलाई इद उल फित्र भनिएको हो ।
बाँकेमा एक जनाको ज्यान जाने गरी ठूलो सङ्ख्यामा सङ्क्रमित देखिएका कारण यस वर्ष पारिवारिक भेटघाटमा सीमा दूरी कायम गर्दै सचेतनाका साथ आआफ्नै घरमा इद उल फित्र पर्व मनाउन थालिएको हलवाईले बताए । यस वर्ष गत वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महीना लामो व्रत (रोजा) शुरु भएको थियो । व्रत तोडिएपछि आज विशेष नमाज पढेर इद उल फित्र मनाइँदैछ ।रासस





























प्रतिक्रिया