नयाँ दिल्ली ।
भारतमा सोामबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३८ हजार ८४५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार बिहान जारी तथ्याङ्क अनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार २१ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५७ हजार ७२१ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ७७ हजार १०३ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँ मात्र ५० हजार २३१ नागरिक कोरोना संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ । त्यहाँ १६ हजार २७७ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । गुजरातमा १४ हजार ५६ संक्रमति रहेका छन् । दिल्लीमा १३ हजार ४१८ जना कोरोना संक्रमित रहेका छन् ।
भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।
भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।
भारतमा २४ घन्टामा ६ हजार ९७७ संक्रमित
भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टा यता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चारका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाए अनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ३८ हजार ८४५ पुगेको छ ।
त्यसैगरी भारतमा विगत २४ घण्टामा १५४ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार २१ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । रासस/एएनआई





























प्रतिक्रिया