जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

केन्द्रबिन्दु
0
Shares

टोकियो ।
जापान सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुराले बताएका छन् ।

कोभिड–१९ सङ्क्रमणका घटना घट्दो क्रममा रहेको र उपचारका लागि चिकित्सा प्रणालीमा पनि सुधार आएको भन्दै सरकारले सङ्कटकाल हटाउने निर्णय लिएको बताइएको छ ।

जापानका ४७ प्रान्तमध्ये टोकियो कानागावा, चाइवा, साइतामा र हकाइदो क्षेत्रमा स्वास्थ्य सङ्कटका कारण जारी सङ्कटकाल कायम रहेकोमा अब ती क्षेत्रमा पनि सङ्कटकाल हटाउने तयारी भएको हो ।

आपतकालिन सेवा व्यवस्थापनको जिम्मेवारी लिएका निशीमुराले भने, “सोमबार बिहान स्वास्थ्य विज्ञहरू सम्मिलित सल्लाहकार समितिले सङ्कटकाल हटाउनेबारे छलफल गरी अन्तिम निर्णय दिनेछ ।” “धेरै भागमा सङ्क्रमण दर पूर्ण नियन्त्रणमा आउन सकेको छैन,” उनले पत्रकार सम्मेलनमा भने ।

जापानी स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीका अनुसार आइतबार जापानमा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या २६ रहेको छ भने योसँगै यहाँ कूल सङ्क्रमितको सङ्ख्या १६ हजार ५६९ पुगेको छ । जापानमा सङ्क्रमितमध्ये ८०८ को मृत्यु भएको छ । आइतबार टोकियोमा मात्र १४ जना सङ्क्रमित भेटिएसँगै अहिलेसम्म राजधानीमा सङ्क्रमितको सङ्ख्या पाँच हजार १५२ पुगेको छ ।

जापानमा सङ्क्रमितको सङ्ख्यामा डायमण्ड प्रिन्सेस नामक पानी जहाजमा सङ्क्रमित ७१२ जनालाई समावेश भने गरिएको छैन । उनीहरू टाकियो नजिकैको शहर योकोहामास्थित बन्दरगाहामा जहाजमा नै क्वारेन्टाइनमा राखिएको समय सङ्क्रमित भेटिएका थिए ।

यूरोपका अधिकांश मुलुकमा सङ्क्रमण नफैलिँदै जापानमा सङ्क्रमितहरूको सङ्ख्या उल्लेख्य देखिएको भए पनि जापानको सावधानीपूर्ण निर्णय र सफल स्वास्थ्य प्रणालीका कारण सङ्क्रमण दर र मृत्यु सुरूमा अनुमान गरिएभन्दा निकै कम रहेको छ ।रासस

Logo