काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गरेका छन् । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उनले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताए ।
बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रुपमा रहेको बताउँदै एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने जनाएका छन् । विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै प्रधानमन्त्रीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गरेका छन् ।
शुभकामना–प्रचण्ड
यसैगरि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गरेका छन् । आज दिएको शुभकामना सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान भएको बताए ।
उनले बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने बताएका छन् । सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोभिड–१९ ले समानरुपले आक्रमण गरिरहेकाले यस महामारीविरुद्धको सङ्घर्षमा एकताबद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै अध्यक्ष प्रचण्डले भनेका छन् , ‘‘इदुल फित्र चाडका अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछु ।’’रासस





























प्रतिक्रिया