नेपाली फुटवलमा लामो रेसका रुपमा आशा गरिएका फुटवलरहरु

नेपाली फुटवलमा लामो रेसका रुपमा आशा गरिएका फुटवलरहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

फुटवल एसोसिएशन जसको अर्थ फुट–खुट्टा र बल–भकुण्डो हो । जसलाई सकर पनि भन्ने गरिन्छ । फुटवल खेल संसारकै लोकप्रिय र दर्शकहरुले धेरै रुचाउने खेल पनि हो । नेपालमा पनि अरु खेलको तुलनामा फुटवल अग्रपंक्तिमा रहेको छ । नेपाली फुटवल टोलीले पछिल्लो समय विश्व वरियतामा समेत राम्रै स्थान बनाएको छ । नेपाली फुटवल टोलीमा राम्रो र प्रतिभाशाली खेलाडीहरु आइरहेको देख्न सकिन्छ ।

गत मंसिरमा सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली फुटवल टोलीले स्वर्ण पदक जित्न सफल भएको थियो । यसरी सम्झन लायक थुप्रै उपाधिहरु नेपाली फुटवल टिमले हात परेको छ ।  फुटवल महासंघले सन् २०१५ मा पहिलो पटक साफ यू–१९ च्याम्पियनसिप आयोजना गरेको थियो । आयोजनाको जिम्मेवारी नेपालले पाएको थियो । उक्त खेलमा नेपालले फाइनलमा भारतलाई पेनाल्टीमा ५–४ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि हात पारेको थियो ।

सो संस्करणमा अनन्त तामाङ, विमल घर्ति मगर, तेज तामाङ, सुनिल बल, अन्जन विष्ट र दिनेश राजवंशी लगायतका खेलाडी रहेको उक्त टिमले उपाधि जित्दा नेपालमा तहल्का मच्चिएको थियो । यिनै खेलाडीहरुले हाल नेपालको राष्ट्रिय टोली सम्हालि रहेका छन् । अखिल नेपाल फुटवल संघ (एन्फा) एकेडेमीबाट खेल जीवनमा प्रवेश गरेका यस ‘ब्याच’ का खेलाडीबाट नेपालले धेरै आशा गरेको छ । यस पछिका ब्याचबाट पनि केही राम्रा खेलाडीहरु आएका छन् ।
यस पछिका ब्याचले भुटानमा भएको यू–१८ साफ च्याम्पियनसिप उपाधि हात पारेको थियो । यस ब्याचबाट अभिषेक रिजाल, र सुमन अर्यालले राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

यसरी उमेर समूहबाट आफूलाई प्रमाणित गर्दै राष्ट्रिय टिममा पर्न सफल भएका उनीहरुलाई नेपाली फुटवलमा लामो रेसका फुटवलरको रुपमा हेरिएको छ । उनीहरुबाट नेपालले उमेर समूहमा जस्तै उत्कृष्ट नतिजाको आशा राख्नुका साथै लामो समय राष्ट्रिय टिममा रहने विश्वास समेत गरिएको छ । आज हामी यिनै केही खेलाडीहरुको विषयमा चर्चा गर्न गइरहेका छौँ ।

१.विमल घर्ति मगर


बुटवलमा जन्मिएका राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्ति मगर जसले १४ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यु गर्ने अवसर पाएका थिए । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी सानै उमेरमा सफलताको शिखरमा पुगेका खेलाडी हुन् । उमेर समूहको यू–१४, १६ र १९ मा आफूलाई राम्रो खेलाडी प्रमाणित गरेका विमलले सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध गोल गर्दै आफूलाई अब्बल स्ट्राइकर भएको प्रमाणित गरेका थिए ।

नेपालले बंगबन्धु गोल्डकप, एएफसी सोलिडारीटी तथा १२ औँ सागको उपाधि जित्दा विमल टिममा थिए । गत मंसिरमा सम्पन्न १३ औँ साग खेलमा भने उनी अनुशासन कारबाहीमा परेर खेल गुमाएका थिए । सन् २०१२ मा बंगलादेश विरुद्ध डेब्यु गरेका उनले हालसम्म ८ गोल गरी सकेका छन् । विमलले युरोपका क्लबमा प्रशिक्षण गर्नुका साथै भारतीय आई लिग क्लब र माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलि सकेका छन् ।

२. तेज तामाङ


तेज तामाङ गत मंसिरमा सम्पन्न १३ औँ संस्करणको सागमा अब्बल प्रदर्शन गर्ने खेलाडी हुन् । उमेर समूहबाट नै नेपालको प्रतिनिधित्व गरेका उनी हाल राष्ट्रिय टिमका मिडफिल्डर हुन् । अखिल नेपाल फुटवल संघ (एन्फा) को एकेडेमीबाट तेजले आफ्नो फुटवल यात्रा शुरु गरेका थिए । नेपालले १३ औँ साग, साफ यू–१९ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप, सोलिडारीटी कप र १२ औँ सागको उपाधि हासिल गर्दा तेजको महत्वपूर्ण योगदान रहेको थियो । सन् २०१५ को साफ यू–१९ च्याम्पियनसिप उपाधि हासिल गरेपछि उनी विभागीय टिम नेपाल पुलिस क्लबमा आबद्ध छन् । हाल उनी राष्ट्रिय टिमको प्लेईङ सेटमा छन् ।

३. अन्जन बिष्ट


हेटाैंडाबाट फुटवल करियर शुरु गरेका अन्जनले राष्ट्रिय टिमको ६ वर्षे यात्रा पूरा गरी सकेका छन् । ६ वर्षे यात्रामा उनले २ गोल गरेका छन् । कतारमा आयोजना भएको फिफा विश्वकपको छनोट अन्तर्गत चाईनिज ताईपे विरुद्ध अन्जनले दुई गोल गरेका थिए । लामो प्रहार गर्न खप्पिस अन्जन मिडफिल्डर र स्ट्राइकर दुबै भूमिका निर्वाह गर्न सक्छन् । साथै दायाँ र बायाँ दुबै स्थानबाट खेल्न सक्ने अन्जनले आफूलाई राष्ट्रिय टिममा स्थापित गरी सकेका छन् ।

सन् २०१४ फिलिपिन्ससँगको खेलमा डेब्यु गरेका अन्जन त्यसयता भने निरन्तर टिममा छन् । अन्जन उमेर समूहको साफ यू–१९ सँगै बंगबन्धु गोल्डकप, सोलिडारीटी कप र १२ औँ सागको उपाधि नेपालले प्राप्त गर्दा टिमका सदस्य थिए । अन्जनले युरोपमा समेत प्रशिक्षण गरेका छन् ।

४. अभिषेक रिजाल


झापाका अभिषेक रिजाल राष्ट्रिय टिममा पछिल्लो पटक डेब्यु गर्ने खेलाडी हुन् । एन्फा एकेडेमीका खेलाडी रिजालले गत वर्ष मलेसिया विरुद्धको खेलमा डेब्यु गरेका थिए । डेब्युपछिको दोस्रो खेलमै चाईनिज ताईपे विरुद्ध गोल गरेपछि अभिषेकले आफूलाई राष्ट्रिय टिममा स्थापित गरी सकेका छन् । साथै उनी नेपाल पुलिस क्लबमा पनि आबद्ध रहेका छन् । अभिषेकले गत मंसिरमा भएको १३ औँ सागमा नेपाललाई स्वर्ण पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । राष्ट्रिय टिमबाट १ गोल गरी सकेका अभिषेक युवा पुस्ताले रुचाएका खेलाडी समेत हुन् । पछिल्लो प्रदर्शनले उनलाई लामो रेसका खेलाडीको रुपमा हेरिएको छ । उनलाई अहिले मिडफिल्डर तथा स्ट्राइकर दुबै भूमिकामा देखिन सकिन्छ ।

५. अनन्त तामाङ


एन्फाबाट करियर सुरुआत गरेका झापाका अनन्त तामाङ नेपाली राष्ट्रिय टोलीका भरपर्दो डिफेन्डर हुन् । उनी पछिल्लो समय राष्ट्रिय टिमको सेन्टर डिफेन्डरमा स्थापित गर्ने एक्ला खेलाडी समेत हुन् । सन् २०१५ बाट राष्ट्रिय टिममा डेब्यु गरेका अनन्त त्यसपछि लगातार टिममा छन् । उनले हालै सम्पन्न भएको शहिद स्मारक ए डिभिजन लिगमा रुस्लान थ्री स्टार क्लबबाट खेलेका थिए । उनी लिगभरी कै उत्कृष्ट डिफेन्डर छनौट भएका थिए ।

अनुशासन र आफ्नो खेल कौशलमा प्रभावकारी देखिएका अनन्तले लामो समय टिममा आफूलाई स्थापित गराउने नेपाली समर्थकहरुले अनुमान गरेका छन् । अनन्त नेपालले साफ यू–१९ च्याम्पियनसिप, एएफसी सोलिडारीटी कप, बंगबन्धु गोल्डकप तथा १२ र १३ औँ सागमा स्वर्ण पदक जिताउन महत्वपूर्ण योगदान प¥याउने सदस्य समेत हुन् ।

७. मिक्छेन तामाङ


मोरङको उर्लाबारीमा जन्मिएका मिक्छेन फुटवलसँगको प्रेमले गर्दा नै मोफसल हुँदै राष्ट्रिय टिमसम्मको यात्रा तय गरेका खेलाडी हुन् । मिक्छेनले घरेलु फुटवलमा नयाँ आकार दिँदै २०७५ सालको ए डिभिजन लिगमा थ्री स्टारबाट डेब्यु गर्दै सम्भावना देखाएका थिए । एक वर्षको अन्तरमा उनले राष्ट्रिय टिममा स्थान बनाएका हुन् ।

नेपालको म्यानमारसँगको यू– २१ मैत्रीपूर्ण खेलमा उनले राष्ट्रिय टिममा स्थान बनाउने मौका पाएका थिए । उक्त खेलमा ८७ औँ मिनेटमा मैदान प्रवेश गर्दै उनले राष्ट्रिय टिममा डेब्यु गरे । मिक्छेन अन्जन बिष्टको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।
१३ औँ सागमा उनले नेपाललाई महत्वपूर्ण गोल दिलाएका थिए । हाल उनी सेन्टर मिडफिल्डरका रुपमा राष्ट्रिय टिममा छन् । उनी लामो दौडको प्रभावशाली फुटवलर हुन् ।

८.रवि पासवान


नेपाली फुटवलमा फिटनेशको पक्का खेलाडी हुन्, रवि पासवान । प्राय फुटवल खेलाडीहरु आधुनिक फुटवललाई फिटनेशको खेल समेत भन्न रुचाउँछन् । जसले ९० मिनेटसम्म मैदानमा आफ्नो शतप्रतिशत फिटनेश देखाउँछ उनै राम्रो फुटवल खेलाडी ठहरिन्छ । रविले न त नेपालको उमेर समूहमा नै खेल्ने मौका पाए न त एन्फा एकेडेमीको अनुभवनै । उनी मिडफिल्डर खेलाडी मोफसलको प्रतियोगिताबाट आएका खेलाडी हुन् ।

पछिल्लो समयमा नेपाली फुटवलरलाई शतप्रतिशत फिटनेश दिन सक्दैनन् भन्ने आरोप छ । तर, त्यसलाई रविले गलत सावित गरी दिएका छन् । उनी नेपालका एक मात्र त्यस्तो खेलाडी हुन् जसले आफुलाई शतप्रतिशत फिट राखेका छन् ।

पालका मुख्य प्रशिक्षकमा जोहान कालिन आएपछि खेलिएका ११ खेल मध्ये ९ खेलमा रविले नेपालको प्रतिनिधित्व गरेका छन् । पछिल्लो पुस्ताका प्रेरणाको स्रोत बनेका रविले राष्ट्रिय टिमबाट ९ खेल खेलिसक्दा ८ खेलमा प्लेईङ सेटमा रहेर खेल प्रदर्शन गरी सकेका छन् । २०७५ साल चैतमा कुवेतसँग डेब्यु गरेपछि रविले पछाडि फर्केर हेर्नु परेको छैन । रविको फिटनेश र दौडको स्पिडको कारण उनलाई लामो समय नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको रुपमा हेरिएको छ ।

Logo