- युवराज संग्रौला
एउटा भनाइ छ, अण्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कमजोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, राष्ट्रले अन्तर्राष्ट्रिय साख गुमाउँछ । अहिले हाम्रो अवस्था यस्तै हो । जब राष्ट्र अपमानित हुन्छ, नागरिकको मनोदशा पनि भएपूर्ण हुन्छ । हामीले अहिलेसम्म नबुझेको कुरा के हो भने दुइसय बर्षदेखि हाम्रो इतिहास वा राज्यको साख अपमानित भएको छ। अब अण्डाले ढुङ्गा होइन फलामले ढुङ्गा फुटाउने मानसिकताको निर्माण गर्नु पर्छ।
१. सन १८१४ मा हामी माथि साम्राज्यवादी आक्रमण भयो । हामीले जमिन गुमायौं । त्यसपछी हाम्रा नागरिकहरुलाई उपनिबेशी शासकले दासझैँ उसको सेनामा प्रयोग परम्परा थोपर्यो। राणाहरुलाई कठ्पुतली बनाएर हाम्रो समाजलाई अन्धकारको चपेटामा हाल्यो । बृटिस उपनिबेशिले नेपालको राजनीतिलाई फोहोर बनाइदियो । तर हाम्रा नेता र कर्मचारी बेलायत सङ्ग दुइसय बर्षको इतिहास छ भन्छन् । अझ गोर्खा भर्ती जस्तो अपमानको पर्यायलाई नेपाल र बेलायतको कुटनितिको सांघु भन्ने गर्छन् । अपमानित भएको भान पनि छैन । सन् १९४७ मा भारत स्वतन्त्र भयो, तर उसले गर्ने व्यवहार उपनिबेशको भन्दा फरक थिएन । बीपीलाई धोका दिएर आफू प्रधानमन्त्री हुन मात्रृका कोइराला दिल्ली पूगेको इतिहास हामी सङ्ग छ । स्वाभिमान हामीले बेच्यौं । क्युबामाथि अमेरिकाले के के अत्याचार गरेन । तर क्युबालीले शिर पनि झुकाएनन्, स्वाभिमान पनि बेचेनन् । उनीहरुले आफूलाई उन्नत बनाए । शिक्षालाई आधुनिक बनाए। बिज्ञानलाई उन्नत बनाए । नागरिकले देशको अस्तित्वलाई नै आफ्नो अस्तित्व बनाए । क्युबालाई अमरिकाले दमन गर्न सकेन । क्युबाको जस्तो कठिन अवस्था हाम्रो होइन । तर हाम्रा नेता भनिने, राजा भनिने, र जनता भनिनेले आत्मा नै बेचिदिए ।
२. नागरिक भारत र बेलायतको सेनामा भर्ना हुन अहिले पनि कुद्छन् । ऊ सङ्ग ५० तर्क छन् , आफ्नो गलत काम पुष्टि गर्ने तर आफ्नो खेत र बारीमा उन्नत खेती गर्ने सीप सिक्ने जाँगर छैन । लाहुरे संस्कृति राष्ट्रको अपमानका रुपमा हुर्केको छ । जबसम्म आफ्नो स्वाभिमानको अपमान भएको महसुस गर्न सकिन्न अरुले हेप्छन् । त्यसैले भारतले हाम्रो भूमिमा आफू खुस गर्छ ।
३. देशका वकिल बिदेशीको गुलामी गर्छन् , बिदेशीले पैसा दियो भने देशको अस्तित्वकै विरुद्ध तर्क दिन तयार छन् । उनीहरु बिदेशीका लागि जासुसी गर्ने संस्थालाई सहयोग गर्छन् । देशका पत्रकार बिदेशीका पैसा लिएर देशका विरुद्ध लेख्न तयार छन् । त्यस्ताका पछाडी नेता लाग्छन् । देशका इन्जिनियर सीमानामा पिलर राख्दा आफ्नो भूमी त्याग्न तयार छन् । देशका कर्मचारी राष्टर्घात गरेर बिदेशीको गुलामी गर्न तयार छन् । देशका नेता आफू मन्त्री हुन बिदेशीका पाउमा शीर राख्न तयार छन् । देशका जनता चौकिदारी र सिपाहीका लागि स्वास्नी र खेत त्याग्न तयार छन् । यी सबै अपमानित इतिहास र राष्ट्रका मानिसका प्रवृत्ति हुन् । राष्ट्र कमजोर भए पछि यस्तै हुन्छ।
३. हिटलरले आक्रमण गर्दा रसियामा पचास लाख मानिसले सिपाहीका रुपमा निसंकोच ज्यान दिए । चीनमा आफ्नो स्वतन्त्रता लागि कतिले ज्यान दिए सबैलाई थाह छ । किनकि उनीहरुलाई राष्ट्र अपमानित हुँदा पोल्यो । हामीलाई राष्ट्रको अपमान पीडा हुँदैन, हामीलाई पीडा डिभी नपर्दा, बिदेशी सेनामा भर्ती हुन नपाउँदा, र अरबमा शोषण हुन जान नपाउँदा हुन्छ। हामीलाई बिदेशीको चाकरी औधी मन पर्छ।
४. हाम्रोमा केही मानिसलाई सधैं प्रधानमन्त्री हुने धोको रहन्छ। कसैलाई त एक दर्जन पटक प्रधानमन्त्री हुन मन छ। म सङ्ग प्रधानमन्त्री हुने के क्षमता छ भन्ने सोच्न उनीहरु तयार छैनन् । हाम्रा नेता जनताका संरक्षक हुन चाहँदैनन् । उनीहरु जनताका मालिक माननीय हुन चाहन्छन् । उनीहरुलाई आफ्नो बिचारको माया लाग्दैन, उनीहरुलाई घुस दिने माफियाको बढी माया लाग्छ । राष्ट्रघातीहरु प्रती रिस उठ्दैन उनीहरुलाई, बरु देशलाई माया गर्ने प्रती रिस उठ्छ । लुट्नेहरु आफ्ना हुन्छन्, आफ्नो स्वाभिमान राख्नेहरु पराइ हुन्छन् । केही मानिस राजनितिका नाममा छलपट मात्र गर्छन् ।
५.देशका कानुन बिदेशीका लागि बन्छन् । सन्धि र सम्झौता बिदेशीकै लागि बन्छन् । हाम्रो दराजका कागजपत्र बिदेशीले निकालेर लैजान्छन् । देशको नक्सा फेरिन्छ। बिदेशमा राजदूतहरु सेवाबापत पेन्सन खान जान्छन् , राष्ट्रको रक्षाका लागि होइन । बिदेशीले मन पराएका मानिस आयोग र कार्यदलमा रहन्छन् ।
त्यसैले बिदेशीले हामीलाई अपमान गरिरहन्छन् । उनीहरु हामीलाई राष्ट्रनै मान्दैनन् । त्यसैले हेप्ने आँट गर्छन् । हाम्रो आफ्नै चीज हामीसङ्ग छैन । हाम्रा कागज बृटिस म्युजियममा छन् । हामीसङ्ग हाम्रै सन्धी छैनन् । हामीले गुगलबाट नक्सा प्रिन्ट गरेका छौँ । हामीसङ्ग तर्क होइन गाली गलौज छ । देशको बौद्धिकता जबर्जस्त दमन गरिएको छ। दोग्ला मानिस बिज्ञ बनाइएका छन् ।
हामीले अब राष्ट्रको अपमानलाई समाप्त गर्ने, हाम्रो स्वाभिमानको पुनर्निर्माण गर्ने अभियानको निर्माण गर्नुको बिकल्प छैन ।
१. हाम्रो साम्राज्यवाद बिरोधी इतिहासलाई हरेक ब्यक्तिमा पुर्याउनु आवश्यक छ, अब । हाम्रो इतिहासको बध गर्नेहरुको खोजी हुनुपर्छ । २०० बर्ष अगाडी हामीले उपनिबेशी शक्तिका विरुद्ध लेखेको इतिहास फेरि लेख्नु पर्ने भएको छ
२. हाम्रा सीमाना बेच्ने, हाम्रा नक्सा बदल्ने, देशघाती सम्झौता गर्ने, र बिदेशी एजेन्सीका लागि काम गर्ने बिखारीहरुको नकाब खोल्नु पर्छ अब ।
३. हाम्रो शिक्षाको बेहाल गर्नेहरुको नकाब पनि उतार्नु पर्छ ।
४. बिदेशीलाई नागरिक बेचेर देशको उत्पादन समाप्त गर्नेहरुको खोजी पनि गर्नु आवश्यक छ।
हामीले हाम्रो स्वाभिमानका लागि भारतसङ्ग कुरा गर्ने हिम्मत गर्नु पर्छ। अब नागरिकका झोले प्रवृत्ति समाप्त हुनु पर्छ । अब नेपालको अपमान समाप्त गर्ने आन्दोलन गर्नुको बिकल्प छैन । हिजो पनि देश बिदेशीको कठपुतली थियो । आज पनि कठपुतली छ । अब देश कठपुतली हुनु हुँदैन ।
(यो सामग्री हामीले उहाँको फेसबुकबाट लिएका हौं ।)





























प्रतिक्रिया