काठमाडौं । मंगलबारको तथ्यांक अनुसार देशभर कोरोना भाइरसको कूल १ लाख ७ हजार २ सय ५३ परीक्षण गरिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सो संख्या आरडीटी र पीसीआर दुबै मार्फत गरिएको परीक्षणको रहेको छ ।
त्यस्तै प्रवक्ता डा. देवकोटाका अनुसार देशभर ३२ हजार ६ सय ४ पीसीआर परीक्षण गरिएको छ भने ७४ हजार ६ सय ४९ आरडीटी परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ८० पीसीआर परीक्षण गरिएको छ भने ५ हजार ८९ आरडीटी नमुना परीक्षण गरिएको छ ।
देशभर क्वारेन्टाइनमा रहेकाको संख्या २१ हजार ६ सय २३ रहेको छ भने आइसोलेसनमा रहनेको संख्या ४ सय ५७ रहेको छ । जसमध्ये उपत्यकामा १७ जना र उपत्यका बाहिर ४ सय ४० जना रहेका छन् ।
त्यस्तैगरी मंगलबारसम्म देशभर संक्रमितको संख्या ४ सय २ पुगेको छ । मंगलबार मात्रै २७ नयाँ संक्रमित थपिएका छन् । कूल संक्रमितमध्ये ३ सय ४० जना पुरुष र ६४ जना महिला रहेका छन् । देशभरका ३६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिइ सकेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ । घर फर्किएका कूल ३६ जनामध्ये ३ जनालाई पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ । भने अहिलेसम्म दुई जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइ सकेका छन् ।
नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।





























प्रतिक्रिया