सिसडोलवासीको कोरोना परीक्षण हुने भएपछि काठमाडौंको फोहोर उठ्ने

सिसडोलवासीको कोरोना परीक्षण हुने भएपछि काठमाडौंको फोहोर उठ्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सिसडोलवासीको कोभिड–१९ परीक्षण हुने भएपछि काठमाडौँ उपत्यकाको नियमित फोहोर विसर्जन हुने भएको छ । सिसडोलवासीले कारोना परीक्षणको माग राख्दै ककनी गाउँपालिकाले सोमबारदेखि लागू हुने गरी एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएपछि कुनै पनि फोहोरका गाडी काठमाडौँ उपत्यकाबाट सिसडोल जान पाएका थिएनन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या विद्यासुन्दर शाक्यको नेतृत्वमा सोमबार ककनी गाउँपालिका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि यो समस्या समाधान गर्ने सहमति गरेको हो । ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको माग अनुसार सिसडोलवासीमा कोरोना सङ्क्रमण भए–नभएको पुष्टिका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा परीक्षण गर्ने सहमति भएको छ ।

कामपाले भोलि नै स्वास्थ्य विभागको टोलीसहित सिसडोल पुगेर आरडिटी र पिसिआर विधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिए । उपत्यकाको फोहोर छोपेर सिसडोल लैजाने सहमति भयो । प्रमुख शाक्यले भने, “सहमति अनुसार बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म फोहोर विसर्जन गरिसक्नु पर्नेछ ।”

ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलवासीले कोरोना सङ्क्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भएकाले हालको नियमित फोहोर विसर्जन हुने जानकारी दिए । कामपा वातावरण विभाग प्रमुख हरि श्रेष्ठका अनुसार फोहोर विसर्जन स्थल आसपासका बढी प्रभावित कम्तीमा ३०० जनाको परीक्षण गर्ने तयारी कामपाको रहेको छ ।

हालको लागि फोहोर विसर्जन सम्बन्धी समस्या समाधान भए पनि यो नै दीर्घकालीन समाधान भने होइन, कामपाले दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि सिसडोलमा फोहोर व्यवस्थापन गर्दै आएको हुँदा अब त्यहाँ स्थानको पनि अभाव भइसकेको छ । हाल काठमाडौँ उपत्यका १८ वटा स्थानीय तहको फोहोर सिसडोलमा विसर्जन हुँदै आएको छ । उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।रासस

Logo