गौरीफण्टा नाकाहुँदै भारतबाट भित्रिए ७५८ जना नेपाली

गौरीफण्टा नाकाहुँदै भारतबाट भित्रिए ७५८ जना नेपाली

केन्द्रबिन्दु
0
Shares

कैलाली।

नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ । कैलाली र कञ्चनपुरका सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको तथा डोटीका १२ र बझाङका चार जना धनगढीस्थित क्वारेन्टाइनमा राखिएका छन् । उनीहरु जेठ २ र ३ गते नेपाल भित्रिएका हुन् ।

सीमाबाट आउनेलाई गौरीफण्टामा स्वास्थ्य परीक्षणपछि मात्रै स्थानीय पालिकामा पठाउन थालिएको छ । यसअघि भारतमा क्वारेन्टाइनमा राखिएका नेपालीलाई भारतले भारतीय सीमासम्म पुर्याउने व्यवस्था गरेको छ भने नेपालका क्वारेन्टाइनमा रहेका भारतीयलाई भारत फर्काउन थालिएको छ ।

नेपाल भारत सीमामा दर्जनौं नाका भए पनि हाल धनगढी मात्र खुला रहेको छ । धनगढी त्रिनगर भन्सारपछिको दैनिक हजारौं मानिस ओहोरदोहोर हुने नाका खक्रौला थियो । लकडाउन लम्बिँदै जाँदा खक्रौला नाका पनि बन्द छ । नाका बन्द भएपछि खक्रौला भएर नेपाल आउन चाहने मानिसलाई पनि धनगढी भएर आउनू भन्ने गरिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले जानकारी दिए ।

बन्दाबन्दीका बेला दुईदेशीय सीमामा एक अर्काका नागरिकलाई आदानप्रदान गर्न जिल्लामा एउटै नाका मात्र रहेकाले केही दिन अघि टीकापुरमा क्वारेन्टाइनमा रहेका भारतीयलाई टीकापुरबाट धनगढी पुर्याइएको थियो भने पलिया क्वारेन्टाइनमा रहेका नेपालीलाई भारतीय अधिकारीले गौरीफन्टामा ल्याई बुझाएका थिए ।

१६ नेपाली अलपत्र
अहिले भारतबाट नेपाल आएका नेपालीले पलिया हुँदै गौरीफण्टाबाट मात्रै नेपाल पस्न पाउने व्यवस्था छ । लामो समय लकडाउन भएपछि भारतमा काम गर्न नपाउँदा समस्या परेका नेपाली लुकिछिपी भए पनि नेपाल प्रवेश गर्न खोजेका छन् । सोमबार यसरी नेपाल प्रवेशको माग गरिरहेका १६ नेपाली भजनी सीमामा अलपत्र रहेका स्रोतले बताएको छ । उनीहरुलाई सीमापारि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

भारतबाट लुकिछिपी नेपाल आउने क्रम बढेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ। लुकिछिपी नेपाल भित्रिँदा सङ्क्रमणको जोखिम बढेपछि सीमामा कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।रासस

Logo