काठमाडौं ।
लकडाउन बढ्दै गएपछि कोरोना संकटमा फस्दै गरेको नेपालको नयाँ आर्थिक बर्षको बजेट निर्माणको क्रममा आज सरोकारवालाहरुले छलफल गरेका छन् । भिडियो कन्फ्रेन्स मार्फत भएको छलफल कोरोना रोकथाम, आधुनिक स्वास्थ्य उपचार प्रणाली, राहत र विदेशमा रहेका नेपालीले भोग्नु परेको पीडा समाधानमा केन्द्रित रहेको यूवा नेता क्षितिज भण्डारीले बताएका छन् । एनआरएनका अगुवाहरुसँग जुम मिटिङ्ग र टेलिफोन संवाद मार्फत छलफल कार्यक्रम सम्पन्न भएको उनले बताए ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ल्याईएको नेपाल सरकारको नीति तथा कार्यक्रमबारे नकारात्मक टिप्पणी भइरहँदा कतै कोरोना रोकथाम सम्बन्धी मुद्दा ओझेल त पर्दैन ? भन्ने चिन्ता भएको बेला आज राजधानीबाट एनआरएन अगुवाबीच भएको छलफलले सबै दलहरुलाई राष्ट्रिय बिपत्तिको घडीमा नयाँ बजेट निर्माणमा एकताबद्ध हुन सुझाव दिएको नेता भण्डारीले बताएका छन् ।
कोरोनाबाट आर्थिक, सामाजिक रुपमा धराशायी नेपाली अर्थतन्त्र कसरी उकास्न सकिन्छ भन्ने बिदेशको अनुभवको आधारमा आएको प्रतिनिधिमुलक महत्त्वपूर्ण धारणालाई लिखित रुपमै नेपाल सरकार, अर्थमन्त्री डा.युवराज खतिवडालाई र प्रतिपक्षी दलहरुलाई बुझाउने निर्णय भएको भण्डारीले जानकारी दिए ।
बजेट केन्द्रीत कोरोना संकटबारे बिज्ञको सुझावलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण पाण्डे मार्फत पूर्वअर्थमन्त्री डा.रामशरण महत संयोजकत्वमा गठित समिती, बिनोद चौधरीको संयोजकत्वको समिती, जनता समाजवादी पार्टी र राप्रपालाई पनि लिखित सुझाव बुझाई कार्यक्रमलाई सार्थक तुल्याईने सयोजक सुजन सापकोटाले बताए ।
नाईजेरियाबाट एनआरएनए पूर्वकोषाध्यक्ष हिक्मत थापाले नयाँ बजेटमा कोरोना रोकथामको बिकसित राष्ट्रको सफल अनुभवको आधारमा दलहरु एकीकृत भएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको स्वास्थ्य केन्द्र निर्माणको नीति नै पहिलो आधार बन्नु पर्ने बताए । नेता थापाले अब कोरोनाको व्यापक परीक्षण, स्वास्थ्य सामग्री खरिद, विदेशमा र सीमानामा अलपत्र नेपाली उद्दार नै सरकारको प्राथमिकता हुनुपर्ने बताए ।
त्यस्तै इजरायलकी नेतृ दिपिका भुषालले सरकारको नीति तथा कार्यक्रमबाट कुनै आशा सञ्चार नभएकोले आगामी बजेटमा आफूहरुको माग सम्बोधन हुनुपर्ने र नेपाली महिला बेरोजगारीमा विशेष ध्यान दिनुपर्ने बताईन । तरुण नेता एवं बिज्ञ कृष्ण सापकोटाले बन्द दूतावास कसरी खोल्ने, नेपालीलाई स्वदेश कसरी ससम्मान ल्याउने र लकडाउनमा कसरी कोरोना बढदैछ भनेर सरकारको ध्यान जानुपर्ने बताए । जापानबाट चिरञ्जीवी थापाले सबै राजनीतिक दलहरु मिलेर आजको कठिन अवस्थामा होटेल, रेष्टुरेन्ट, ट्राभल्स, म्यानपावर, कन्सल्टेन्सीसहित समग्र अर्थतन्त्र टाट पल्टिन नदिन ठूला आयोजनाको बजेट आर्थिक जगत राहत प्याकेजमा डाईभर्ट गरेर ल्याउन माग गरेका छन् ।
यस्तै अष्ट्रेलियाबाट मदन पौडेलले बिदेशीएको नेपालीको खर्बौं रेमिट्यान्स चाहिने तर नागरिक नचाहिने, कस्तो रणनीति हो सरकार ? भन्ने प्रश्न तेर्साएका छन् । संयोजक सुजन सापकोटाले रेल र एयर्पोर्टको सट्टामा प्रत्येक स्थानीय तहमा अत्याधुनिक अस्पताल र आईसियु निर्माण गर्न र युवालाई रोजगार दिन माग गरेका छन् ।
कार्यक्रम सहयोगी बिनित घिमिरेका अनुसार आज छुटेका थप सुझाव संकलनसहित प्रस्ताव लेखन र प्रतिबेदन बुझाउन वरिष्ठ सल्लाहकारमा हिक्मत थापा र चिरञ्जीवी थापा रहने गरि बिज्ञ पत्रकार ईन्द्र रिजालको संयोजकत्वमा सचिव कृष्णप्रसाद सापकोटा, सुजन सापकोटालाई जिम्मेवारी दिईएको छ । सो कार्यक्रमको अनुगमनकर्ता एवं बिज्ञ बक्ता वरिष्ठ पत्रकार ईन्द्र रिजालले बजेटले पत्रकारलाई निःशुल्क पिपिई परिक्षण, १ करोडको बिमा, उद्योगी ब्यवसायीको ब्याज मिनाह, बिपन्नलाई राहत र प्रवासीलाई बोईङ्ग पठाएर नेपाल ल्याउन विशेष प्याकेज समेटिनु पर्ने बताए । पत्रकार रिजालले आगामी आर्थिक वर्षको बजेटको ठोस योजनामा दलहरू सत्तापक्ष र विपक्षको मानसिकताबाट माथि उठेर एक भइ अघि बढ्न सुझाव दिंदै आफूले दुई दिन भित्रै प्रतिवेदन सम्बन्धित निकायमा बुझाउने प्रतिबद्धता गरेका छन् ।





























प्रतिक्रिया