काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरुमध्ये राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । सरकारको आव्हानमा संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गरेका थिए ।
अमेरिकी एक वरिष्ठ खोप विज्ञले आधुनिक इतिहासमा नै अमेरिकाले सबैभन्दा खराब समयको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । कोरोना भाइरस विरुद्धको खोप बनाउने सरकारी निकायका पूर्वप्रमुख एवं खोप विशेषज्ञ रिक ब्राइटले आगामी हिउँदमा कोरोना भाइरसको संक्रमण अति भयावह हुन सक्ने चेतावनी दिएका हुन् ।
त्यस्तै नयाँ खोज तथा नवप्रवर्तनलाई सरकारले पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने भएको छ । नवप्रवर्तन शुरुआती पूँजी अनुदान कार्यविधि, २०७६ जारी गरी सरकारले सीप क्षमता र योग्यताको आधारमा सो रकम सहयोग गर्ने भएको हो ।
पर्साको ठोरी गाउँपालिकाले भारतीय सीमा क्षेत्रमा काँडेतार लगाएको छ । नेपाल भारतबीच चुलिदै गएको सीमा विवादसँगै पर्साको ठोरी गाउँपालिका ३ ले विकास बजेटबाट छुट्याएर सीमामा काँडेतार लगाएको हो । यद्यपी भारतीय पक्षको अवरोधका कारण काँडेतार अभियानले पुर्णरुपमा सफलता पाउन भने सकेको छैन् ।
त्यस्तैगरी नेपाल राष्ट्र बैंकको अध्ययनले कोरोनाका कारणले वित्तीय क्षेत्रमा असर नपर्ने उल्लेख गरे पनि बैंकमा असर देखिन थालेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा खराब कर्जा बढेको देखिएको हो ।
कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच पछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले केही समय पहिले आर्थिक गतिविधिलाई चलायमान बनाउन केही खुकुलो बनाउने निर्णय गरेको थियो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला





























प्रतिक्रिया