काठमाडौं ।
विश्वभरि कोरोना भाइरसको महामारी उचाईमा रहेका वेला विश्व स्वास्थ्य संगठन, (डब्लुएचओ) ले यो रोगवारे नयाँ खुलासा गरेको छ । डब्लुएचओले कोरोना भाइरसको संक्रमण कहिल्यै समाप्त नहुने सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । डब्लुएचओका अनुसार एचआइभी जस्तै कोरोना भाइरस पनि कहिल्यै समाप्त हुन नसक्ने सम्भावना रहेको बताएको हो ।
स्वीजरल्याण्डको जेनेभामा एक सम्मेलनमार्फत डब्लुएचओका आपतकालिन स्वास्थ्य कार्यक्रम निर्देशक डाक्टर माइक रायनले एचआइभीजस्तै कोरोना भाइरस पनि पूर्णरुपमा समाप्त भएर नजान सक्ने चेतावनी दिएका छन् । उनले भ्याक्सिन पत्ता लागेको अवस्थामा पनि यो रोग अब विश्वमा रहिरहने र नियन्त्रणका लागि व्यापक प्रयासको खाँचो पर्ने प्रष्ट पारेका छन् ।
यो महामारीबाट विश्वमा हालसम्म करीब ४५ लाख मानिस संक्रमित भइसकेका छन् । विश्वभर संक्रमणको यहि अनुपात जारी रहे अबको ४५ दिनमा संक्रमितको संख्या नै एक करोड नाघ्नेछ । किनभने, विश्वका सबैभन्दा बढी जनसंख्या भएका तीन महादीपका मुलुक तीन मुलुकमा बल्ल आएर भाइरस संक्रमणको रफ्तार बढीरहेको छ । यूरोपको रुस, दक्षिण अमेरिकाको ब्राजिल र एशियाको भारतमा संक्रमणको अवस्था अहिले निकै बढीरहेको तथ्यांक डब्लुएचओको छ ।
यति सम्मकी, अबको कोरोना संक्रमणको केन्द्रविन्दु यी मुलुक बन्न सक्नेमा डब्लुएचओले चेतावनी दिइसकेको छ । संक्रमणबाट विश्वभरि अहिलेसम्म करीब तीन लाख मानिसको मृत्यु भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा ८५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ भने यूरोपेली मुलुकहरुमा मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघिसकेको छ ।
यस्तो भयावह अवस्थामा रहेको भाइरसबारे बोल्दै डब्लुएचओका संक्रामक विशेषज्ञ
डाक्टर रायनले यो भाइरस कुनै क्षेत्र विशेषमा पाइने भाइरसका रुपमा रहिरहन सक्ने बताएका हुन् । साथै उनले कोरोना भाइरस पूर्णरुपमा कहिले समाप्त हुन्छ भन्ने भविष्यवाणी गर्ने तर्फ नलाग्न पनि विश्व समुदायलाई सचेत गराएका छन् । भाइरस विरुद्धको खोप पत्ता लागेको अवस्थामा पनि यस्को नियन्त्रणका लागि व्यापक प्रयासको खाँचो पर्ने डब्लुएचओको भनाइ छ ।
यो रोगको खोप कहिले पत्ता लाग्छ भन्न सक्ने अवस्था पनि अहिले छैन । कोरोना विरुद्धको एक सयभन्दा बढी सम्भावित खोप विकासको क्रममा रहेको डब्लुएचओको भनाइ छ । खोप विकासमा मुख्यगरि भारत लगायत अमेरिका, यूरोप र चीन जुटेका छन् । अघिल्लो महिना बेलायतले खोपको प्रारम्भिक चरणमा सफलता हाल लागेको भन्दै मानवमा पहिलो पटक परिक्षण गरिएको जनाएको छ । तर, यसको नजिता आगामी सेप्टेम्बरमा मात्र आउने बताइएको छ ।
कोभिड–१९ बाट अमेरिका सबैभन्दा बढी संक्रमित देशका रुपमा रहेको छ भने रुस र बेलायत क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । रुस र दक्षिण अमेरिकी मुलुक ब्राजिल कोरोनाको नयाँ केन्द्रविन्दु बन्ने दिशामा उन्मुख भइरहेका छन् । छिमेकी भारतमा पछिल्लो २४ घण्टामा १ सय ३४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ लगातार दशौं दिनसम्म संक्रमित हुने संख्याले नयाँ उचाइ छोइरहेको छ । भारतसँग खुला सीमाना रहेको नेपालमा पनि त्यसको जोखिम उत्तिकै रहेको छ । नेपालसँग जोडिएको उत्तर प्रदेश भारतमा सबैभन्दा संक्रमिम दश राज्यभित्र रहेको छ । नेपालमा अहिलेसम्म जतिको संख्या संक्रमित देखिएको छ । त्यसको नब्बे प्रतिशत भारतबाट आएमा मानिसमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।































प्रतिक्रिया