काठमाडौंमा प्रवेश निषेधको लहर, प्रवेश गराए घरबेटीले क्षतिपूर्ति तिर्नुपर्ने 

काठमाडौंमा प्रवेश निषेधको लहर, प्रवेश गराए घरबेटीले क्षतिपूर्ति तिर्नुपर्ने 

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित विरामीहरू बढ्न थालेपछि बाहिरबाट आएका मानिसलाई घरमा प्रवेश निषेध गर्ने लहर चलेको छ । सरकारले एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाइने नियम लागू गरेपनि लुकिछिपी आवतजावत गर्नेहरूमा कोरोना संक्रमण भेटिएपछि स्थानीय तहले निगरानी बढाएको हो ।

ललितपुर महानगरपालिकाको वडा नम्बर ६ मा बाहिर जिल्ला वा विदेशबाट आएका व्यक्तिहरूलाई प्रवेश निषेध गर्ने सूचना प्रकाशन गरेको छ । वडा अध्यक्ष हिटलर शाक्यले एक सूचना जारी गर्दै विभिन्न कारणले घर गएका डेरावालहरूलाई घरधनीले तत्काल सम्पर्क गरी आफ्नो घरमा प्रवेश गर्न नदिने जानकारी गराउन समेत आग्रह गरेका छन् ।

घरधनीहरूले सूचना लुकाई डेरावालालाई प्रवेश दिए त्यस्ता घरमा ताला लगाई शिल गर्ने सूचनामा उल्लेख छ । त्यस्तै, संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।

अत्यावश्यक वस्तुबाहेक व्यापार, व्यवसाय, उद्योग कलकारखाना सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ भने भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यकबाहेकका व्यक्ति तथा सवारीसाधन निषेध गर्ने, स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको व्यवस्थापन एवं नियमन गर्ने, विपन्न एवं गरिबसहित खाद्यान्न अभाव भएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

उता बूढानीलकण्ठ नगरपालिका –१०, कपन नीलोपुलस्थित प्रगतिनगर टोल सुधार समितिले आफ्ना घरमा बाहिरबाट कोही आएमा तथा भाडामा बस्नेहरु आउजाऊ गरेमा खबर गर्न घरधनीहरुलाई आग्रह गरेको छ ।

समितिका अध्यक्ष रामजी खड्काको अध्यक्षतामा बसेको स्थानीयको भेलाले घर बाहिर रहेकाहरुलाई बाहिर नै बस्न आग्रह गर्ने निर्णय गरेको हो । यदि बाहिरबाट आई लुकिछिपी बसेमा घरधनी र भाडावाललाई २१ दिन क्वारेन्टाइनमा राख्ने निर्णय समितिले गरेको छ । त्यस्तै नीलोपुलस्थित खाली चौरमा खेलकूद गतिविधि नगर्ने तथा साइकल, मोटरसाइकल सिक्ने सिकाउने काम स्थगन गर्ने निर्णय पनि गरिएको छ ।

उपत्यकाका ललितपुर, काठमाडौं र भक्तपुर तीन वटै जिल्लाका भित्रि सडकहरुमा पनि बास र डोरीले बाटो अवरुद्ध गरिएको छ । संक्रमितको संख्या बढ्न थालेपछि आज उपत्यकामा लकडाउनलाई कडा पारिएको छ । उपत्यका प्रवेश गर्ने थानकोट, जगाती, फर्पिङलगायतका नाकाहरुमा पनि कडाइ गरिएको छ ।

यो समाचार तयार पार्दासम्म उपत्यकाको भक्तपुर र काठमाडौंमा २/२ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

कपिलवस्तुकी ६ वर्षिय बालिकाको भने महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

Logo