कोरोना परीक्षणका लागि स्वास्थ्य सामग्री अभाव भएको भन्दै सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

कोरोना परीक्षणका लागि स्वास्थ्य सामग्री अभाव भएको भन्दै सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सांसदहरुले कोरोना भाइरसको परीक्षणका लागि विभिन्न स्थानमा स्वास्थ्य सामग्री अभाव भएको तथा लकडाउनले सर्वसाधारणको दैनिकी कष्टकर भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न स्थानमा अझै पनि आवश्यक स्वास्थ्य सामग्री पुग्न नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । साथै उनीहरुले भारत लगायत विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न र कृषि उपजको बजार व्यवस्थापन प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद टेकबहादुर बस्नेतले सल्यानमा स्वास्थ्य परीक्षणको काम रोकिएको भन्दै तत्काल सुरु गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । सांसद दलबहादुर लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाल्पा जिल्ला प्रशासन कार्यालयले माग गरे बमोजिमको सामग्री तत्काल पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद तेजुलाल चौधरीले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले निम्त्याएको समस्यामा सरकार भएको महसुस सर्वसाधरणले गर्न नसकेको आरोप लगाए । सांसद डिला संग्रौला पन्त कोरोना भन्दा पहिला नै विदेशमा रोजगारीका क्रममा मृत्यु भएकाको शव ल्याउन नपाएको तथा विदेशमा अलपत्र परेका र भारतीय सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन माग गरे ।

सांसद दामोदर भण्डारी र दिल कुमारीले विदेशमा अलपत्र परेका नेपालीलाई यथाशिघ्र स्वदेश ल्याउने व्यवस्था मिलाउन माग गरे । सांसद दिपकप्रसाद भट्टले भारतमा काम गर्न गएका लाखौ नेपाली संकटमा रहेको भन्दै उनीहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिलेन्द्रप्रसाद बढूले चालु अधिवेशनको सुरुदेखि नै प्रधानमन्त्री बैठकमा अनुपस्थित भएको भन्दै सो को कारण संसदलाई जानकारी गराउन माग गरे । सांसद दुर्गा पौडेलले लकडाउनका कारण किसानहरु बढी मर्कामा परेको भन्दै किसानको मनस्थिति खस्कन नदिन बजार व्यवस्थापनको साथै अनुदानको व्यवस्था मिलाउन माग गरे ।

सांसद देवप्रसाद तिमिल्सिनाले ०७७ बैशाख ५ गते आँधी हुरी र असिनाबाट रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६,७, ८, ९ र १० र गढीमाई नगरपालिकाका केही वडाहरुका हजारौ विघाहामा लगाएको खेतीपाती नष्ट भएकाले तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

Skip This
Skip This
Logo