काठमाडौं ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशिल रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको पाँचौं बैठक आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सम्पन्न भयो ।
समितिका संयोजक माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले ५ वटा निर्णयहरु गरेको छ ।
आजको समितिले गत माघ २ गतेको निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवको आयोजना हेर्ने निर्देशकसमेतको प्रतिनिधित्व हुने गरी गठन गरिएको कार्यदलले आफ्नो कार्य जिम्मेवारी बमोजिमका कार्यहरु यथाशिघ्र अगाडि बढाइ सो को प्रगति प्रतिवेदन १० दिन भित्र यस समिति समक्ष पेश गराउनु पर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले ०७४ भाद्र १९ गते निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानी गर्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझदारी पत्रमा उल्लेखित म्याद थप गरी सम्झौतामा उल्लेखित कार्यहरु अगाडि बढाउने पनि निर्णय गरेको छ ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सेक्टर वन कार्यालय, निजगढद्वारा पेरिफेरि रोड निर्माणका निम्ति गणना गरिएका ४ हजार २३२ वटा रुखहरुको कटान–स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्नु पर्ने पनि बैठकको निर्णय छ । साथै, विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलहरुको लगत नम्वरीङ कार्य तत्काल अघि बढाउने समेत आजको बैठकले निर्णय गरेको छ ।
विमानस्थल निर्माणका लागि लगानी बोर्डले निश्चित समय सीमा तोकी जुरिच इन्टरनेशनलसँग सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रकृया पूरा गर्ने तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रकृया शीघ्र सम्पन्न गर्ने पनि बैठकले निर्णय गरेको छ ।





























प्रतिक्रिया