काठमाडौं । भारतले नेपाली भूमिमा बाटो निर्माण गरेर दादागिरी देखाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद थापाले सो कुरा बताएका हुन् ।
उनले सीमाबारे सरकारले पश्चाताप मात्रै गर्ने कि प्रतिवाद गर्ने भन्दै प्रश्न समेत गरेका छन् । साथै, उनले चीनको न्यानो मायाको प्रतिरोध गर्नुपर्ने बताएका छन् । उनले भने–‘भारतको दादागिरी र त्यसमा चीनको न्यानो मायाको प्रतिरोध गर्नुपर्छ । प्रतिरोधमा कांग्रेस अगाडि रहन्छ ।’ नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा उनले निन्दा समेत गरेका छन् ।
त्यस्तैगरी सांसद थापाले शनिबार ट्वीट गर्दै नेपाली भूमिमा निर्माण भएको बाटो भारतीय मिडियाबाट थाहा पाउनुपर्ने भन्दै राज्य संयन्त्र छ कि छैन ? भनेर प्रश्न गरेका थिए । उनले केही समय पहिले भारतले नेपाली भूमि समावेश गरेर नयाँ नक्सा प्रकाशित गर्दा सरकार बोल्न नसक्नुको परिणाम बाटो निर्माण भएको उल्लेख गरेका थिए ।
‘हाम्रो भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने हाम्रो कस्तो राज्य संयन्त्र ? नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम हो यो ।’–उनले ट्वीटरमा लेखेका थिए–‘अब पनि जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने ? ।’
भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको थियो । जसको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । भारतले नेपाली भूमिमा एकतर्फी रुपमा बाटो निर्माण गरेपछि नेपालमा व्यापक विरोध हुँदै आएको छ ।
यो पनि पढौं
भारतीय पक्षले नेपाली भूमिमा बाटो निर्माण गरेपछि शीर्ष नेताबाट विरोध





























प्रतिक्रिया