हेटौंडा ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सबै क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । उनले हरेक कामका लागि सरकारको मात्रै मुख ताकेर बस्नु नागरिकको जिम्मेवारीभित्र नपर्ने बताए।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लायन्स तथा लियो क्लबद्वारा आयोजित स्वचालित ह्याण्ड स्यानेटाइजिङ उपकरण जडान कार्यक्रममा मुख्यमन्त्री पौडेलले नागरिकले आआफ्नो क्षेत्रबाट सरकारलाई सहयोग गर्नुपर्ने बेला आएकामा जोड दिए।
आफूसँग भएको सीप र कलालाई माहामारीका बेला सदुपयोग गर्न उनले आग्रह गरे । उनले कोरोना भाइरसको जोखिम देशमा कायम नै रहेकाले लकडाउन पूर्णरुपमा नहट्न सक्ने उल्लेख गरे । मुख्यमन्त्री पौडेलले नागरिकलाई सजग रहनसमेत आग्रह गरे।
कोरोना सङ्क्रमण लामो समयसम्म रहिरहन सक्ने हुँदा भौतिक र मानसिकरुपमा तयार भएर बस्नु पर्ने उनको धारणा थियो । मुख्यमन्त्री पौडेलले लायन्स तथा लियोहरुले गरेको सामाजिक काम नियालिरहेको बताउँदै आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे ।रासस





























प्रतिक्रिया