कपिलवस्तुका २ संक्रमित बुटवल कोरोना अस्पतालमा

कपिलवस्तुका २ संक्रमित बुटवल कोरोना अस्पतालमा

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु ,
कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । उनीहरुलाई तौलिहवाबाट एम्बुलेन्समा विशेष अस्पताल पठाइएको हो ।

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा बिहीबार दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । भारतको महाराष्ट्रस्थित मुम्बईबाट आएका उनीहरु दुवै तीर्थादेवी छत्रपाली माध्यमिक विद्यालय पकडीमा निर्माण गरिएको क्वारेण्टाइनमा बसेका थिए । मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले गाउँमा प्रवेश गर्न नदिने गरी बाटामै रोकेर क्वारेन्टाइनमा पठाएको वडा नं २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानले जानकारी दिए।

गाउँलेले मुम्बईबाट आउँदैछन् भनेर जानकारी दिएपछि नै आफूले उनीहरुलाई गाउँ पस्न रोक लगाएर राति १ बजेतिर क्वारेण्टाइनमा पुर्याएको वडाध्यक्ष मुसलमानले बताए । उनीहरुलाई राति बाटोमै खाना खान दिएर घर प्रवेश गर्न नदिई क्वारेन्टाइन पुर्याइएको थियो ।

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं २ अभिरावका संक्रमित दुवै दाजुभाइ रहेको गाउँपालिकाले जनाएको छ । अहिले दुवैलाई कोरोना विशेष अस्पतालमा पुर्याइएको छ । ती मजदूर सीमानाका चाकडचौडाबाट सुरक्षाकर्मीलाई छलेर नेपाल प्रवेश गरेका थिए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले क्वारेन्टाइनमा राखिएका अन्यको पनि परीक्षण हुने बताए। उनले उनीहरुको सम्पर्क ट्रेसिङ भइरहेको बताउँदै संक्रमित भएको पुष्टि भएपछि उनीहरु गाउँमा आउने क्रममा भेट भएकाहरुको खोजी शुरु गरिएको र गाउँ पूरै सुरक्षित रहेको भन्न नसकिने जनाए ।

इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार संक्रमित देखिएका दुई एकै घरका सदस्य हुन् । उनीहरुसहित पाँच जनाको परिवार सात दिन अघि लुकिछिपी अभिरावमा आएका थिए । उनीहरु गाउँमा अरुसँग सम्पर्कमा आए आएनन् स्पष्ट बुझ्ने काम जारी रहेको प्रनि सुवेदीले बताए ।

दुवै संक्रमितलाई लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ल्याइएको र उनीहरुको अवस्था सामान्य नै रहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए । ती संक्रमितको कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य अवस्थाको सबै परीक्षण गरेर आइसोलेशनमा भर्ना गरिनेसमेत उनले बताए ।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य नै देखिए पनि उनीहरुमा क्वारेन्टाइनमा बस्दा एक सातादेखि कहिलेकाहीँ ज्वरो आउने गरेको देखिएको कोरोना अस्पतालका फोकल पर्सन लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिए ।रासस

Logo