आन्ध्र प्रदेशमा औद्योगिक दुर्घटना, सात जनाको मृत्यु

आन्ध्र प्रदेशमा औद्योगिक दुर्घटना, सात जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमरावती । भारतको आन्ध्र प्रदेशको भिजागस्थित एक पोलिमर उद्योगबाट ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १ सय २० जना घाइते भएका छन् । बिहिबार बिहान विशाखापटनमको आरआर वेन्कटपुरममा रहेको एलजी पोलमर्सबाट स्टेराइन नामको ग्यास चुहिएको अधिकारीहरुले बताएका छन् ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले भिजाग ग्यास दुर्घटनाका बारेमा विशेष रुपमा अनुगमन गरिरहेका मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । उनले ग्यास दुर्घटनाबाट पीडितको तत्काल उपचारको व्यवस्था गर्न तथा अरु क्षति हुनबाट जोगाउन जिल्लास्थित सम्बन्ध अधिकारीहरुलाई निर्देश पनि दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुख्यमन्त्री जगन मोहनलाई फोन गरी दुर्घटनालाई नियन्त्रणमा ल्याउन र उद्धार गर्न केन्द्र सरकारले सम्पूर्ण सहयोग गर्ने वचन दिएका छन् । आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले एक विज्ञप्ति प्रकाशन गरी ग्यासको सम्पर्कमा आएका व्यक्तिहरु र गाईवस्तु बेहोस अवस्थामा रहेको बताउँदै ग्यासका कारण रुखबिरुवाका पातको रङ समेत परिवर्तन भएकाले ग्यासको विषाक्तता सहजै अनुभव गर्न सकिने उल्लेख गरेका छन् ।

उनले स्थानीयवासीलाई युद्ध स्तरमा उद्धार गर्नु पर्ने खाँचो रहेको बताउँदै पीडित सबैलाई विशिष्ट उपचारको खाँचो रहेको औंल्याए ।भारतमा सन् १९८४ मा मध्यप्रदेशको भोपालमा पनि यस्तै औद्योगिक ग्यास चुहिएर ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनुका साथै कैयौं व्यक्तिहरु सख्त घाइते भएका थिए ।–रासस/एएनआई

Skip This
Skip This
Logo