काठमाडौं । संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार संसदको महासचिवमा नियुक्त भएका गौतमले मंगलबार पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गौतमले संविधान र कर्मचारी नियमावलीमा भएको व्यवस्थाअनुसार आफ्नो कर्तव्य वफादार भएर निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको एउटै सचिवालय भएकाले दुबै सदनलाई समन्वय गरेर अगाडी बढाउनुपर्ने पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै उनले संविधान र ऐन अनुसार आफ्नो जिम्मेवारी व्यवसायीक ढंगले निर्वाह गर्ने बताए । नव नियुक्त गौतमलाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ खुवाएका थिए । सपथ ग्रहण कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विभिन्न पार्टीका संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरुको सहभागिता रहेको थियो ।
सपथ ग्रहणपछि गौतमले आजै पदभार समेत ग्रहण गरेका छन् । गौतमलाई राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख सापकोटाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महासचिवमा नियुक्त गरेकी थिइन् ।





























प्रतिक्रिया