घरमै भत्ता पाएपछि बृद्धबृद्धा मख्ख, जनप्रतिनिधि र बैंकका प्रतिनिधिलाई आशिर्वाद  

घरमै भत्ता पाएपछि बृद्धबृद्धा मख्ख, जनप्रतिनिधि र बैंकका प्रतिनिधिलाई आशिर्वाद  

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिकास्थित वडा न. ६ मा सामाजिक सुरक्षा भत्तावापतको रकम घरघरमै वितरण गरिएको छ । कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण लाभग्राहीहरू बैंकसम्म पुग्न असहज भएपछि वडा कार्यालयले घरमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था गरेको हो ।

सेन्चुरी कमर्सियल बैंकका प्रतिनिधि, वडा कार्यालयका प्रतिनिधि र स्थानीयको सहयोगमा दोश्रो चौमासिकको भत्ता वितरण गरिएको वडाध्यक्ष शशिधर सुवेदीले जानकारी दिए । गत आइतबार र सोमबार गरी ३०१ जनालाई भत्ता वितरण गरिएको सुवेदीले बताए । चार सय १० जना लाभाग्राही रहेको यो वडामा आज सबैलाई भत्ता वितरण गरिसक्ने उनले बताए ।

घरमै भत्ता रकम पाएपछि बृद्धबृद्धाहरूले खुसी व्यक्त गरेका छन् । बैंकबाट वितरण गर्दा घन्टौसम्म लाइन बस्नुपर्ने, पालो नआएर फर्किनुपर्ने, छोराछोरीले रकम लगेर बुबा आमालाई नदिने जस्ता समस्या भोग्दै आएका उनीहरूले घरघरमै भत्ता ल्याइदिने जनप्रतिनिधि र बैंकका प्रतिनिधिहरूलाई आशिर्वाद समेत दिएका छन्।

भत्ता रकम बुझ्दै लिलाखेलका सुन्तली बलामीले सधैं यसरी भत्ता वितरण गरे सहज हुने बताइन् । लकडाउनले समस्या भइरहेका बेला घरमै पैसा आइपुग्दा निकै खुसी लागेको बताउंदै उनले जनतालाई यस्तै सुविधा दिने प्रतिनिधि चाहिएको प्रतिक्रिया दिइन्।

अर्का ज्येष्ठ नागरिक रामकृष्ण अधिकारीले पनि घरघरमै भत्ता वितरण गरेर वडाले सराहनीय काम गरेको बताए।  “हामी जस्ता बुढापाका र असक्तका लागि यो भन्दा ठूलो गुण के होला र !” उनले भने ।

Logo