सिन्धुपाल्चोक ।
तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ्य सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । तातोपानी भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा स्याउ, लसुनजस्ता सामान तातोपानीमा आएको उनीहरुको भनाइ छ ।
भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष मुके शेर्पाका अनुसार सो नाकाबाट स्वास्थ्य सामग्री र अतिआवश्यक खाद्यान्न मात्रै ल्याउन चीन तथा नेपालका प्रशासनिक र सुरक्षाकर्मीको बैठकले निर्णय गरेको थियो । केही दिनदेखि अतिआवश्यकभित्र नपर्ने स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिकाका वडाध्यक्षहरुले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लकडाउनका बेला अनावश्यक वस्तु स्याउ, लसुनजस्ता सामान आयात हुन थालेपछि सीमावर्ती गाउँपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् ।
स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिका–१ का अध्यक्ष शेर्पा-२ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ-३ का अध्यक्ष कैलाश पौडेल र ४ का अध्यक्ष साङदोर्जे शेर्पाले वैशाख १९ गते ज्ञापनपत्र बुझाएका हुन् । भन्सार प्रमुखले ज्ञापनपत्र लिन नमानेपछि वडाध्यक्षहरुले भन्सार कार्यालयमा सुरक्षा दिइरहेका प्रहरीमार्फत भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाए ।
गाउँपालिका–२ का अध्यश्र श्रेष्ठले कोरोना भाइरसका कारण लकडाउन भएको बेला नाकाबाट स्वास्थ्य सामग्री र अतिआवश्यक खाद्यवस्तु (चामल, दाल, तेल, नुन) मात्रै ल्याइनुपर्ने हो तर केही दिन अघि भन्सारका कर्मचारी, केही व्यापारी, प्रशासन, सुरक्षाकर्मीको मिलेमतोमा स्याउ र लसुन ल्याइएको प्रति आक्रोश व्यक्त गरे ।
नेपाल भित्रिएका स्याउ र लसुन राजधानी लैजान नदिने र केही गरी सो वस्तु काठमाडौँ लैजाने प्रयास गरिए वडाध्यक्ष र स्थानीयवासीले प्रतिकार गर्ने वडाध्यक्षहरुले चेतावनी दिएका छन् । तत्कालका लागि कारोना भाइरस प्रतिरोधी सामग्रीबाहेकका सामान नल्याउन पनि वडाध्यक्षहरुले भन्सार कार्यालयलाई आग्रह गरेका छन् ।
लकडाउनमा स्वास्थ्य सामग्री र खाद्यान्नबाहेक स्याउ, लसुन लगायतका वस्तु ल्याइएको खण्डमा वडावासी र गाउँपालिकावासी सशक्त प्रतिकार गरेर सो सामान सबैको रोहवरमा नष्ट गर्ने वडाध्यक्षहरुले बताएका छन् । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले व्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा सामान आएको जानकारी दिए ।
मापदण्ड नपुगेको भन्दै भोटेकोशीको क्वारेन्टाइन बन्द
मापदण्ड नपुगेको भन्दै भोटेकोशीका १० शैयाको क्वारेन्टाइन बन्द गरिएको छ । शनिबार अनुगमनका क्रममा १८ शैयामध्ये आठ शैया मात्र मापदण्ड पूरा भएको पाइएकाले बाँकी १० वटालाई खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत्त चापागाईँले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, सहायक जिल्ला प्रमुख बाबुराम खनाललगायतले बाह्रबिसे क्षेत्रीय क्वारेन्टाइन लामोसाँघु लगायत आसपासका क्वारेन्टाइनको अनुगमन गरेको जिल्ला समन्वय समितिका प्रमुख तामाङले जानकारी दिए। उनले अन्य स्थानका क्वारेन्टाइनको पनि अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने बताए ।
यसैगरी शनिबार बाह्रबिसे आसपासका आठ एम्बुलेन्स चालकलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिइ सेट) वितरण गरिएको छ । चालकका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पुनः प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा सेट, मास्क, बुट र चश्मासमेत रहेको छ ।
नेपाली काङ्ग्रेस बाह्रबिसेको ध्यानाकर्षण
राहत वितरणमा बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेसको अवरोध भन्ने समाचारप्रति काँग्रेस बाह्रबिसेले ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेसका स्थानीय युवानेता युधीर पौडेलले राहत वितरणमा कतै अवरोध नगरेको बताए। उनले कोरोना भाइरसले अप्ठ्यारोमा परेकालाई पार्टीको तर्फबाट राहत वितरण गरिरहेको पनि जानकारी दिए।रासस





























प्रतिक्रिया