नेकपा विवादः पार्टीलाई निकास कि नयाँ घटनाक्रम विकास ?

नेकपा विवादः पार्टीलाई निकास कि नयाँ घटनाक्रम विकास ?

केन्द्रबिन्दु
0
Shares

  • सरोज बस्याल
    काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले नयाँ मोड लिएको छ । गत बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकपछि नेकपा विवादले नयाँ मोड लिएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार मनमौजी रुपले चलाएको आरोप पहिलेदेखि नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले लगाउँदै आएका थिए । पार्टी एकिकरण भएदेखि नै पूर्व एमाले र पूर्व माओवादी कित्ता छुट्टीएको प्रचण्डको बुझाइ थियो । अर्का अध्यक्ष ओलीमा पनि प्रचण्डलाई हेर्ने नजर पूर्व माओवादी कमाण्डर भन्दा फरक थिएन । ओलीमा माओवादी निर्वाचनमा विलय हुने डरले पूर्व एमालेसँग एकिकरण गर्न पुगेको धारणा हाबी थियो र अहिले पनि छ ।

निर्वाचनमा भारी जनमत आफूले गर्दा नै वर्तमान नेकपाले पाएको ओलीको बुझाइ छ । पार्टी एकिकरण गर्न अत्यावश्यक ठानेका ओली प्रचण्डलाई पाँच वर्षको सत्ताको बागडोर आधा आधा मिलेर चलाउने भनेर पूर्व एमालेमा तत्कालिन माओवादी केन्द्रलाई विलय गराउन सफल भए । पछी प्रचण्डलाई प्रधानमन्त्री बनाउन आनाकानी गर्दै कार्यकारी अध्यक्ष दिएर उनको विरोधी स्वर केही समय थामथुम गर्न पनि सफल भए । एमालेमा विलय भएको माओवादीको अस्तित्व मेटियो भन्दै पार्टीभित्र ओली अगाडि बढी रहे । पार्टी एकिकरण पछि प्रचण्डलाई ठेगान लगाउन सकिन्छ भन्ने सोच राखेका ओली दिन दुई गुणा रात चार गुणा असफल हुँदै गए । जसको ज्वलन्त उदाहरण एमसीसी संसदबाट पास गराउन असफल हुनु, अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्यमा निरन्तरता दिन असफल हुनु, भ्रष्टाचार काण्डमा मुछिएका प्रिय पात्र गोकुलप्रसाद बाँस्कोटालाई प्रचण्डकै कारण मन्त्रीबाट जोगाउन नसक्नु र जारी गरिसकेका अध्यादेश फिर्ता लिन बाध्य हुनु आदी ।

पूर्व एमालेमा सधै हेपिएका वरिष्ठ नेता माधवकुमार नेपाल ओलीको विरोधमा थिए । एक्लै विरोध गर्दा तानाशाही जस्ता कसैको आवाज नसुन्ने ओलीका अगाडि नेपाल सधै निरिह रहे । पार्टीमा पेलेर गरिएका निर्णयमा पटक पटक नोट अफ डिसेन्ट लेख्न बाहेक अरु कुनै विकल्प थिएन उनीसँग । त्यस्तै अर्का नेता झलनाथ खनालको पनि ओलीका सामु त्यही हविगत थियो । ओलीको विरोध गरेपनि कुनै निर्णायक आवाज नेता खनालसँग थिएन् । सधैको दोस्रो दर्जाको व्यवहार पाएका भुक्तभोगी नेता नेपाल र खनाल पार्टीभित्र सुनौलो अवसरको खोजीमा थिए । राजनीतिका चतुर खेलाडी प्रचण्डले ओलीका सामु आफ्नो शक्ति क्षय हुँदै गएको बुझ्दै गए । त्यसैले आफ्नो शक्ति बढाउनतर्फ लागे । असन्तुष्ट नेता नेपाल र खनाललाई साथमा लिए । पार्टीभित्र सधै विरोधी नेता नेपाल र खनाल पनि सहजै प्रचण्डतिर नजिक भए । त्यसपछि ओलीका लागि सधै नेकपाभित्र खतराको घण्टी बजिरहयो ।

पार्टी एकिकरणमा ६०/४० को अनुपात कायम गरिएको थियो । जसमा ६० प्रतिशत पूर्व एमाले र ४० प्रतिशत माओवादीको थियो । अध्यक्ष ओलीले महाधिवेशनमा आफू पार्टी अध्यक्ष बन्दा आफूले जत्तिकै हाराहारीमा मत ल्याएका नेपाललाई पार्टीभित्र पछिल्लो समय कुनै संवेदना देखाएका थिएनन् । उनी यतिसम्म बन्न पुगे कि एकिकरणमा पाएको ६० प्रतिशतभित्र नेपालको पनि महत्वपूर्ण जनमत छ भनेर बुझन सकेनन् । नेपाल पक्षलाई सत्ता र पार्टी दुबैमा निरन्तर पेलेरै अगाडि बढे । ओलीको अहंकारी व्यवहारबाट आजित भएका नेपाल आफ्नो भागको २५ प्रतिशत सांसदकासाथ बालुवाटार छोडेर खुमलटारतिर नजिक भए । नेता नेपालको अनुपस्थितिमा ओलीको शक्ति कमजोर हुनु स्वभाविकै हो, त्यसैले ओलीले आफ्नो शक्ति क्रमिक रुपमा क्षय हुँदै गएको महशुस गर्न थाले तर वरिपरि घुमिरहने अरिङगालको ढाडसले निरन्तर अगाडि बढी रहे ।

यता प्रचण्ड पुरानो ४० प्रतिशत र नेता नेपाल पक्षका झलनाथ खनाल, वामदेव गौतमसहितको २५ प्रतिशतको साथ पाउँदा बलियो हुँदै गए । त्यसपछि सचिवालय, स्थायी कमिटिमा ओलीलाई एक्लाउन सफल भए । ओलीको स्थिति यतिसम्म भयावह भयो कि इतिहासकै बलियो कहलिएको ओली नेतृत्वको सरकार कमजोर प्रतिपक्ष हुँदाहुँदै पनि असुरक्षित भएको महशुस गर्न थाल्यो । आफ्नै पार्टीभित्रको चर्को विवाद थेग्न नसकेर गत बैशाख ८ गते जारी गरेका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश हतार हतार राष्ट्रपतिबाट अनुमोदन गराउन सफल भएपनि चार दिन वित्न नपाउँदै १२ गते फिर्ता लिन सरकार बाध्य भयो । त्यसै दिन राष्ट्रपतिले पनि खारेज गर्न बाध्य भइन् ।

अध्यादेश फिर्तापछि ओलीले निन्याउरो पारामा प्रतिपक्षको दबाबले भन्दा पनि आफ्नै पार्टीभित्रको असहयोगका कारण अध्यादेश फिर्ता लिएको भन्दै गुनासो पोखे । अध्यादेश फिर्तापछि शान्त हुने ठानिएको विवाद झन झन झाँगिदै गयो । अहिले विवादले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा माग गर्ने स्थितिसम्म आएको छ । बहुमतको दम्भ देखाउने ओलीमा अहिले त्यो दम्भ सकिएको छ । उनको स्थिति यतिसम्म नाजुक भएको छ कि कोरोनाको संक्रमण सकिएपछि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ल्याउन बाध्य भए ।

उनले बुधबार साँझ ६ बजे बालुवाटारमा बसेको बैठकमा सो प्रस्ताव ल्याएका थिए । तर, यसमा पनि उनी असफल भएका छन् । नेता नेपालले बिहिबार भएको ओलीसँगको भेटमा तेस्रो अध्यक्ष बन्न अस्वीकार गरी सकेका छन् । त्यस्तै प्रधानमन्त्री बन्ने बाटो स्प्रष्ट नभएको भन्दै उपाध्यक्ष गौतमले पनि ओलीसँग ठोस प्रस्तावको माग गरेका छन् ।

आवश्यकता भन्दा बढी तन्काउँदा रबर चुँडिन्छ
ओलीको हेपाहा प्रवृती अति भएपछि नेपाल–दाहाल पक्ष यस्तो विपद्को समयमा पनि विद्रोहमा आउनु परेको नेपाल पक्षका एक नेताको बुझाइ छ । ती नेता भन्छन–‘रबरको प्राकृतिक गुण तन्किने हो । तर त्यसको पनि निश्चित सीमा हुन्छ । रबरको बनावट हेर्नु पर्छ कति तन्काउनु भनेर । आवश्यकता भन्दा बढी तन्काइयो भने त्यो चुँडिन्छ । अहिलेको नेकपा विवाद पनि ठ्याक्कै त्यस्तै हो । लामो समयदेखि गुम्सिएको असमझदारी यतिबेला बाहिर आएको मात्र हो ।’

सचिवालयमा ओलीको अवस्था
नेकपाको सचिवालयमा कुल नौ सदस्य रहेका छन् । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वामदेव गौतम, माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल । यतिबेला सचिवालयमा ओली पक्षको गुट कमजोर देखिएको छ । सचिवालयका पाँच सदस्यले बुधबारको बैठकमा पार्टीभित्र ओलीको लोकप्रियता घट्दै गएको र सत्ता चलाउने वैधता गुमेकाले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट राजीनामा दिएर पार्टीलाई निकास दिन माग गरेका छन् । अहिलेको अवस्थामा ओलीका लागि सचिवालय पनि प्रतिकूल सावित भएको छ ।

स्थायी कमिटीमा ओलीको अवस्था
नेकपाको स्थायी कमिटी ४५ सदस्यीय रहेको छ । जसमा पूर्व माओवादी खेमाका अग्नी सापकोटा संघीय संसद प्रतिनिधि सभाका सभामुखमा नियुक्त भएका छन् । उनी सभामुखमा नियुक्त भएपछि अहिले ४४ सदस्य रहेका छन् । स्थायी कमिटीमा पनि ओलीको अवस्था कमजोर रहेको छ । ओलीको स्थायी कमिटीको अवस्था बुझ्न केही समय अगाडि २० जना स्थायी कमिटी सदस्यले पाटी एकलौटी रुपमा चलाएकाले पार्टीभित्र वृहत छलफलको आवश्यकता औल्याउँदै तत्काल स्थायी कमिटीको बैठक बस्नु पर्ने माग राख्नुलाई पनि हेर्न सकिन्छ ।

डुङगा दुर्घटनामा पार्न ओलीको असफलता
बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली चलिरहेको डुङगामा आक्रमण गर्न सफल भए । तर, पूर्ण रुपमा दुर्घटना गराउन सफल हुन सकेनन् । सचिवाल बैठकमा कोरोना संक्रमण सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ल्याएर पानीमाथि रफ्तारमा चलिरहेको डुङगा (नेपाल–दाहाल–खनाल र गौतम गठबन्धन) मा प्वाल पार्न सफल भए ।

तर, डुङगामा सवार यात्रु र चालक चनाखो हुँदा प्वालबाट पानी छिर्न नपाउँदै टाल्न (नेता नेपालले अध्यक्ष बन्न अस्वीकार र गौतमबाट प्रधानमन्त्री बनाउने ठोस प्रस्ताव ल्याउने माग) सफल भए । त्यसैले ओलीले डुङगामा प्वाल पार्न सफल भएपनि दुर्घटनामा पार्न भने चुकेका छन् ।

गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीका लागि आफ्नो खुट्टामा बन्चरो हान्नु जस्तै
बुधबारको सचिवालय बैठकमा ओलीले आफ्नो खुट्टामा बन्चरो हान्ने सुरुआत गरेका छन् । उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई अध्यक्ष बनाएर नेपाल–दाहाल गठबन्धन तुहाउने प्रयासमा रहेका ओलीलाई आफ्नो खुट्टामा आफै बन्चरो हानेको थाहा छैन । आज बस्ने सचिवालय बैठकमा गौतम प्रधानमन्त्री र नेपाल अध्यक्ष बन्ने ठोस प्रस्ताव माग गरिने छ । शुक्रबार नेपाल निवास कोटेश्वरमा बसेको उनी निकट नेताको बैठकको निष्कर्ष ओलीबाट ठोस प्रस्तावको माग गर्नु रहेको छ ।

ओलीको प्रस्ताव मान्नका लागि पहिले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने र तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने पहिलो माग हुने नेपाल निकट एक नेताले बताए । बुधबारको सचिवालय बैठकमा गौतमले पनि तत्काल प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने र बाँकी कुरा पार्टीले गर्ने बताएका थिए । पटक पटक नेकपाभित्र भकुण्डो जस्तो खेलाइएका गौतम यतिबेला भने त्यति हलुको नहुने उनी निकटका नेताको दावी छ ।

वामदेव प्रधानमन्त्री बन्न सम्भव छ ?
तत्कालका लागि वामदेव प्रधानमन्त्री बन्नु भनेको आकासको फल आँखा तरी मर भने जस्तै हो । किनभने वर्तमान कानुनी व्यवस्थामा प्रतिनिधि सभा सदस्य मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ । उनी अहिले कुनै पनि सदनमा सदस्य छैनन् । प्रधानमन्त्री ओलीले सरप्राइज अफरमा प्रस्ताव गरे जस्तो सहज पनि हुने छैन गौतमलाई प्रधानमन्त्री बन्न । बुधबारको सचिवालयमा गौतमले सपनामा पनि सोचेको थिइन ओलीबाट आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आउला भनेर भने जस्तै त्यो केबल सपना मात्रै सावित हुने पक्का छ ।

ओलीले बुधबारको सचिवालय बैठकमा प्रतिनिधि सभा सदस्य कुनै एक ठाउँमा खाली गराएर वा राष्ट्रिय सभा सदस्य बनाएर संविधान संशोधनमार्फत गौतमलाई प्रधानमन्त्री बनाउने विकल्प प्रस्तुत गरेका छन् । जुन संवैधानिक र प्राविधिक हिसावले व्यवहारीक छैन । हिजो काठमाडौं क्षेत्र नम्बर ७ का रामवीर मानन्धरलाई पार्टीमा राजीनामा गर्न लगाएर आफू त्यहाबाट निर्वाचन लड्ने निधो गरेका गौतमको खुट्टा तान्न अग्रपक्तिमा उभिने ओली नै हुन् । त्यस्तै गत फागुन १० गते बसेको सचिवालय बैठकले गौतमलाई लक्षित गर्दै राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने प्रावधान राख्ने गरी नेता नेपालको नेतृत्वमा संविधान संशोधन कार्यदल बनाएको थियो । तर प्रधानमन्त्री ओलीको असहयोगका कारण नै गौतम राष्ट्रिय सभामा जानबाट बन्चित भएका थिए । कार्यदल विघठन गर्नु परेको थियो । कार्यदल गठन गरेको सूचना गोप्य राख्ने भनिए पनि गौतमलाई राष्ट्रिय सभा सदस्य बन्न बाट रोक्न ओली पक्षका नेताले कार्यदल गठन गरेको सूचना चुहाएको नेपाल–खनाल पक्षको दावी छ ।

ओलीको पहिलो विकल्प
गौतमलाई प्रतिनिधि सभा सदस्य बनाउन पहिले निर्वाचित सदस्यले पदबाट राजीनामा दिनुपर्छ । दोस्रो त्यसका लागि लामो प्रकृया आवश्यक छ । तेस्रो निर्वाचनमा गौतमले जित्ने कुनै सुनिश्चितता हुने छैन ।

ओलीको दोस्रो विकल्प
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने र गौतमलाई प्रधानमन्त्री बनाउने । त्यसका लागि अहिलेको संविधान संशोधन गर्न आवश्यक हुन्छ । वर्तमान व्यवस्था बमोजिम संविधान संशोधन गर्न दुई तिहाइ सदस्यको मत आवश्यक पर्छ । जुन नेकपा एक्लैसँग छैन । त्यसका लागि प्रतिपक्षी दलको साथ लिनुपर्दछ । जुन अहिलेको परिस्थितिमा बालुवाको महल बनाउनु जस्तै कठिन छ । कांग्रेसले पहिलेदेखि नै संविधान संशोधनका मामलामा नेकपालाई असहयोग गर्दै आएको छ । भने तराइ मधेस केन्द्रीत पाटी सांसद सुरेन्द्र यादव अपहरण काण्ड पछि सरकार र ओलीसँग थप चिढिएका छन् ।

Skip This
Skip This
Logo